राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शनिबार नक्खु कारागार फर्कने क्रममै केही नेताले पार्टी छोड्न लागेको बताएका थिए।
यदि रास्वपाकै कारण पार्टीका नेताहरूको व्यक्तित्व निर्माण भएको हो भने आफू त्यसमै खुसी भएको उनको भनाइ थियो।
तर, धेरैको आशीर्वाद रहेकोले रास्वपा बन्ने उनले दाबी पनि गरेका थिए।
'आफ्नै परिवारभित्रका साथीहरूप्रति मलाई कहिँ कतै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु,’ लामिछानेले भिडिओ सन्देश जारी गर्दै भनेका थिए, ‘तपाईँहरूलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईँको कुनै पनि यात्राको बाधक बन्दैन। रास्वपा कुनै पनि साथीको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमै खुसी छु नि, तर पार्टी त बन्छ-बन्छ आमा बाको आर्शीवाद, दिदिबहिनीको प्रेमले बन्छ र दाजुभाइको सक्रियता र सद्भावले पार्टी चाहिँ बन्छ।’
उनले पार्टीका तल्लो तहका नेता कार्यकर्तालाई पार्टी कब्जा गर्न नलागी बनाउन लागे सबै अटाउने पनि उल्लेख गरेका छन्।
'पार्टीका तल्लो तहका साथीहरूलाई यति भन्न चाहन्छु, पार्टी कब्जा गर्न होइन, बनाउनतिर लाग्यौ भने हामी सबै अटाउँछौँ। कुनै राजनीतिक दलप्रति हामीले प्रतिशोध साध्नुपर्ने कुनै पनि छैन,' उनले भनेका छन्, 'उनीहरूले जति जाने त्यति गरे। इतिहासका विभिन्न कालखण्डमा यो देशमा परिवर्तन ल्याउन उनीहरूले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ।'
त्यस्तै रविले सके एक्लै र नसके नयाँहरू एक ठाउँमा भएर आगामी चुनावबा पुराना पार्टीहरूलाई पराजित गर्नुपर्ने पनि उल्लेख गरेका छन्।
'स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउनसक्ने ल्याकत हामीले राख्नुपर्छ। सके एक्लै, नसके सबै नयाँहरू एकै ठाउँमा मिलेर,' उनले भनेका छन्, 'देशभरका सबै साथीहरूलाई प्रशासनसँग मिलेर पुननिर्माणमा श्रमदान गर्न म हार्दिक अपिल गर्दछु।'
आइतबार मात्र केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुमना श्रेष्ठले रास्वपा छोडेको घोषणा गरेकी छन्। नेताहरूका अनुसार अरु केही नेता पार्टी छोड्न लागेको सूचना पाएरै लामिछानेले सो कुरा बोलेका हुन्।
Shares

प्रतिक्रिया