जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहेका जलनविज्ञ डा कीरण नकर्मीले भने, ‘अस्पतालमा ल्याउँदाको अवस्थाभन्दा सुध्रिएको छ, हामीले हरसम्भव प्रयास गरिरहेका छौँ।’
डा नकर्मीका अनुसार आज देब्रे हातको शल्यक्रिया गरिने र अवस्था हेरेर त्यसपछिका उपचार प्रक्रियाअघि बढाइने छ।
फोक्सोमा हानिकारक ग्यास भरिएका कारण शल्यक्रिया गर्नुअघिको ‘एनेस्थेसिया’ (बेहोस पार्ने) विधि अपनाउन नपाउँदा समस्या सिर्जना भएको नेता खनालले जानकारी दिए।
लामो समय प्राध्यापन पेसामा बिताएकी आफ्नी पत्नीलाई योजनाबद्ध ढङ्गले आगलागीमा पारिएको र स्वदेशी तथा विदेशी केही सञ्चारमाध्यमबाट त्रुटिवस गलत समाचार सम्प्रेषण भएकामा उनले दुःख व्यक्त गरे।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘यस किसिमका आपराधिक एवं अमानवीय घटनाको निन्दा र भर्त्सना गर्दछु। उक्त घटनामा संलग्न पक्षलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु।’
सम्मानित नेता खनालले आफ्नो घरमा तोडफोड गर्ने, आगो लगाउने र लुटपाट गर्नेहरूको प्रमाण फेला पर्न थालेको जानकारी दिँदै प्राप्त ती प्रमाणहरू छिट्टै सार्वजनिक गरिने बताए। रासस
Shares

प्रतिक्रिया