राजनीति


शीतल निवासमा अरू नेता भेटेनन् सुदनले, गगनसँग ४ मिनेट कुरा गरे

शीतल निवासमा अरू नेता भेटेनन् सुदनले, गगनसँग ४ मिनेट कुरा गरे

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १८:१४, काठमाडौँ

आज संविधान दिवस (असोज ३)। यही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शुभकामना आदानप्रदान तथा चियापान समारोह गरे।  

समारोहमा पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता, विभिन्न देशका राजदूत तथा कूटनीतिकज्ञहरू, नागरिक अगुवालगायत उपस्थित थिए। 

त्यस्तै उक्त समारोहमा हामी नेपाल नामक गैरसरकारी संस्थाका सुदन गुरुङ पनि पुगेका थिए। उनी भदौ २३ र २४ गते  भएको जेनजी आन्दोलनपछि चर्चामा आएका हुन्। अहिले जेनजीको प्रतिनिधिको रुपमा उनी विभिन्न ठाउँमा उपस्थित हुने गरेका छन्।  

आज शीतलनिवासमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितासँगै छेउछाउमा छोटो कुराकानी पनि गरिरहेका देखिन्थे। 

यहीक्रममा उनै गुरुङले नेपाली कांग्रेसका महामन्त्री गनगकुमार थापासँग भेट्ने मौका पाए। थापा र गुरुङबीच शीतलनिवासकै प्रांगणमा ४ मिनेटजति कुराकानी भयो। 

गुरुङले नेपालखबरसँगको कुराकानीमा अहिलेकै जेनजी आन्दोलनपछि प्राप्त उपलब्धी रक्षाका लागि सहयोग गर्न आफूले आग्रह गरेको सुनाए।

'३/४ मिनेट कुरा भयो। त्यस्तो केही त भएन मैले नै उहाँलाई जेनजीको आन्दोलनले धेरैको जनधनको क्षति पनि भयो केही उपलब्धीहरू दिँदैछ यसको रक्षा गर्न सहयोग गर्नुस् भनेँ। पुरानै पाराले भएन अब हुँदैन भनेँ' आफूले थापासँग भनेको बताए।  

थापाले पनि आफूले यस आन्दोलन र जेनजीको उपस्थितिलाई नजिकबाट हेरिरहेको र पार्टीमा पनि सोहीअनुसार परिवर्तन गर्न लागिपरेको बताएको गुरुङको भनाइ छ।  

'उहाँ (थापा)ले जेनजीको आन्दोलन र त्यसपछिको परिवेशलाई नियाली रहेको भन्नुभयो,' उनले थपे, 'पार्टी (कांग्रेस)भित्र पनि जेनजीको माग सम्बोधन हुने र जेनजीकै शैलीअनुसार अघि बढ्न आफूले काम सुरु गरिरहेको भन्नुभयो।' 

उनले थापाले जेनजीको माग र आन्दोलनबारे पूरा जानकारी राखेको र चासो पनि राखेकोबारे आफू खुसी भएको पनि सुनाए। उनले थापाबाहेक अन्य नेतासँग कुराकानी नभएको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad