जेनजी आन्दोलनपछि नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे बहस सुरु भएको छ।
एमालेका सचिव योगेश भट्टराईले बिहीबार मात्र लामो अपिल जारी गर्दै पार्टी पुनर्गठनको माग गरेकामा पोलिटब्युरो सदस्य सूर्य थापाले त्यसको विरोध गरेका छन्।
सचिव भट्टराईले जेनजी आन्दोलनमा तत्कालीन सरकारले गरेको दमनप्रति पार्टीका तर्फबाट माफी माग्दै अब पार्टी पुनर्गठन गर्नुपर्ने वक्तव्य जारी गरेको भोलिपल्टै शुक्रबार पोलिटब्युरो सदस्य थापाले ‘कथित पुनर्गठन र रूपान्तरणको रोइलो नगर्न’ भन्दै जवाफ फर्काएका हुन्।
थापाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगरौँ। जेनजीलाई मोहरा बनाएर मच्चाइएको आगजनी र अपमान किमार्थ अनुकरणीय छैन।’
जेनजी आन्दोलनपछि केपी ओली प्रधानमन्त्रीबाट राजीनामा दिएर बाहिरिएपछि एमालेमा पार्टी पुनर्गठनको विषयमा छलफल सुरु भए पनि अध्यक्ष ओलीले औपचारिक बैठक राखेका छैनन्।
ओलीले अब पार्टीको नेतृत्व छाड्नुपर्ने तर्क गर्दै आएका नेताहरूले पार्टीको बैठक राख्न माग गरेका छन्। यही क्रममा सचिव भट्टराईले बिहीबार पार्टी पुनर्गठनका लागि आह्वान गर्दै फरक मत राखेका थिए।
Shares

प्रतिक्रिया