राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाको समर्थन सामान्य विषय नभएको स्पष्ट पारेका छन्।
भरतपुरमा पार्टी निकट अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्।
देशमा साम्राज्यवादी शक्तिको हस्तक्षेप भएको दाबी गर्दै केसीले साम्राज्यवादी हस्तक्षेप सफल भए नेपाल प्यालेस्टाइन वा युक्रेन बन्न सक्ने चेतावनी दिए।
‘यदि नेपाली जनता बेलैमा सचेत भएनन् भने देश प्यालेस्टाइन वा युक्रेन बन्न सक्दछ’ उनले भने, ‘सुशीला कार्की सरकारलाई दलाई लामाको बधाई सामान्य कुरा होइन।’
अध्यक्ष केसीले जेनजीको आन्दोलनमा साम्राज्यवादीको घुसपैठ भएका कारणले अहिले देश खरानीको डल्लो बनेको बताए।
‘राजनीतिक पार्टीको आन्दोलनले अहिलेसम्म सिंहदरबार जलाएन, संसद् भवन जलाएन, सर्वोच्च अदालत जलाएन’ उनले भने, ‘अहिले जसरी देशलाई खरानी बनाइयो, त्यसमा अमेरिकी साम्राज्यवादको, भारतीय साम्राज्यवादको र तिनका जासुसी संस्थाको भूमिका छ।’
अहिले जेनजी आन्दोलनको नाममा एनजीओ पृष्ठभूमी भएकाहरू मन्त्रिमण्डलमा सामेल भएको उनको भनाई थियो।
जनताले नै गलत शक्तिलाई चुनावमा जिताएका कारण देशले अहिलेको दुर्दशा भोग्नुपरेको केसीले बताए। सही राजनीतिक दल चिन्ने सवालमा जनता पनि सच्चिनुपर्ने उनको भनाई थियो।
‘राजनीतिक दलहरू चुनावमा बोरामा पैसा बोकेर जान्छन्। त्यो पैसा भ्रष्ट, ठेकेदार, तष्करबाट उठाइएको हुन्छ’ उनले भने, ‘सही राजनीतिक दल चिन्ने सवालमा हामी जनता पनि सच्चिनुपर्दछ। जनताले गलत शक्तिलाई चुनावमा जिताएकै कारण देशले यो दुर्दशा भोग्नुपरेको हो।’
अध्यक्ष केसीले सत्ता सञ्चालन गरिरहेका ठूला राजनीतिक दलको भ्रष्ट चरित्रकै कारणले देश उभो लाग्न नसकेको बताए। दलहरूले चुनावलाई समेत भ्रष्ट बनाएको भन्दै चिन्ता व्यक्त गरे।
केसीले आफ्नो पार्टीको नीति सही भएकाले आफ्ना जनप्रतिनिधिले भ्रष्टाचार नगरेको दाबी पनि गरे।
राजमो २०५१ सालदेखि संसदमा भएको राष्ट्रिय जनमोर्चाका जनप्रतिधिले घुस खाएको कसैले सुन्नुनपरेको उनले स्पष्ट पारे।
Shares

प्रतिक्रिया