निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको विषयमा दलका नेताहरूसँग छलफल गरिरहेको छ। निर्वाचनको तयारी र यसबारे दलहरूको धारणा लिनका लागि आयोगले छलफलमा बोलाएको हो।
आयोगकै जारी छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादीलगायत दलका प्रतिनिधि सहभागी छन्।
आयोगका अनुसार कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, एमालेका गुरु बराल, माओवादीका देव गुरुङ, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलगायत छलफलमा सहभागी छन्।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले छलफलको सुरुवातमै निर्वाचनको वातावरण बनाउन दलहरूलाई आग्रह गरे।
गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेको छ।
निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्तअघि दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ। आयोगले निर्वाचनलाई ध्यानमा राखेर मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका वा उमेर पुगेकाहरूलाई नाम दर्ता गर्न पनि आग्रह गरेको छ।
Shares

प्रतिक्रिया