राजनीति


बालेन, सुमना र सुधन रहेको एउटै पार्टी बनाउन सहयोग गरिरहेको छु : निश्चल बस्नेत

बालेन, सुमना र सुधन रहेको एउटै पार्टी बनाउन सहयोग गरिरहेको छु : निश्चल बस्नेत

लक्ष्मी बलायर
कात्तिक २, २०८२ आइतबार १२:३८, काठमाडौँ

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने गरि मिति घोषणा गरिसकेको छ। चुनावमा सहभागीता जनाउन यतिखेर जेनजी प्रतिनिधीहरू पार्टी गठनको लागि सक्रिय भइरहेका छन्। 

हिजो शनिबार मात्रै मिराज ढुंगानाले नयाँ पार्टी खोलेको घोषणा गरिसकेका छन्। जेनजी आन्दोलनका अरु प्रतिनिधिहरू चाहिँ धेरैलाई समेटेर एउटै दल बनाउने प्रयास गरिरहेका छन्, जसमा जेनजी बाहेकका सामाजिक अगुवाहरू पनि संलग्न छन्।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह, रास्वपा छोडेकी निवर्तमान सांसद सुमना श्रेष्ठ, फिल्म निर्देशक निश्चल बस्नेत लगायतले सुधन गुरुङ, पुरुषोत्तम यादवलाई समेटेर नयाँ पार्टी खोल्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। 

निर्देशक बस्नेतले सबैलाई एकै ठाउँमा मिलाउने प्रयास गरिरहेको पृष्टि गरे। ‘देशमा यो अवस्था देखेपछि उहाँहरू (बालेन, सुमनालगायत) एकै ठाउँमा आउनुपर्छ भन्ने हाम्रो चाहना हो। केही राम्रो होस् भनेर मैले सपोर्ट मात्रै गरिरहेको छु। अहिले भेटघाट र छलफलहरू भइरहेको छ। तर, पार्टीको नाम र नेतृत्व क्लियर भइसकेको छैन,’ उनले नेपालखबरसँग भने।

पछिल्लो समय बालेन, सुमना लगायतसँग निरन्तर छलफलमा रहेका बस्नेतले आफ्नो सोच चाहिँ सक्रिय राजनीतिमा आउने नभएको दाबी गरे।

‘मैले पार्टी खोल्न लागेको होइन्। मेरो काम फिल्म बनाउने नै हो। उहाँहरूलाई एकै ठाउँमा ल्याउन सहयोग मात्रै गरिरहेको हो। सबै चिज सोचेको ठाउँमा जाओस् भनेर मात्र हो। सबैले चाहिरहेको पनि यही हो,’ उनले थपे। 

जेनजी आन्दोलनका समर्थक बस्नेतले भदौ २३ गतेको जेनजी प्रदर्शनलाई समर्थन जनाउँदै टिकटक भिडिओ बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad