नेपाली कांग्रेसका नेता भूपेन्द्र जंग शाहीले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि प्रश्न गरेका छन्। उनले जेनजी आन्दोलनमा लुटिएका हतियार प्रयोग गर्दैनौँ, जेलबाट भागेका व्यक्तिलाई चुनावमा प्रयोग गर्दैनौँ भनेर प्रतिबद्धता जनाउनुपर्ने भन्ने गृहमन्त्रीको भनाइप्रति आपत्ति जनाएका हुन्।
'गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार राजनीतिक दलले सरकारविरोधी गतिविधिमा प्रयोग नगरिने प्रतिबद्धता व्यक्त गर्नुपर्छ भन्ने गैरजिम्मेवार धारणा सार्वजनिक गरेर यो सरकारले शान्ति सुरक्षा कायम गर्न र निर्वाचन सम्पन्न गराउन असक्षम छ भन्ने शंका पनि बढेको छ,' उनले भने।
जेनजी आन्दोलनका क्रममा भगाइएका कैदी र लुटिएका हतियारलाई नियन्त्रणमा लिन तत्काल सुरक्षा निकायलाई परिचालन गर्नुको सट्टा गलत बाटो प्रयोग गरिरहेको शाहीको भनाइ छ।
'अराजकता मच्चाउने, आगजनी गर्ने र लुटपाट गर्नलाई कारबाही नगर्न प्रहरीलाई दबाब दिने गृहमन्त्रीको व्यवहारले उनकै विरुद्ध धेरै प्रश्नहरू खडा भएका छन्,' उनले भने,'यसरी आफ्नो जिम्मेबारीबाट भाग्नु गृहमन्त्रीको लाचारिपन र कायरता हो।'
शाहीले गृहमन्त्री अर्यालले समाजलाई उत्तेजित पार्ने खालका भाषणा दिइरहेको भन्दै निर्वाचनको तयारीमा नलागेको आरोप पनि लगाए।
'डर-त्रासको अन्त्य गर्ने, भयरहित वातावरण सिर्जना गर्ने र कानूनी राज्यको पालना गर्नुको सट्टा उल्टै धम्कीको भाषा बोल्दै हिड्ने गृहमन्त्रीको शैलीले राष्ट्रिय एकतामाथि आघात पुर्याएको छ,' उनले भने, 'सामाजिक सद्भावमा खलबलको अवस्था सिर्जना गरेको छ।'
Shares

प्रतिक्रिया