गृहमन्त्री ओमप्रकाश अर्यालले समेत विदेश भागेको भनेर दाबी गरेको भोलिपल्टै पूर्वऊर्जामन्त्री दीपक खड्का सोमबार बिहान एकाएक आफ्नै निवास (काठमाडौँ, बुढानीलकण्ठ) को प्रांगणमा पत्रकारका साथ सार्वजनिक भएपछि धेरैलाई लागेको छ- उनी त देशमै रहेछन्।
अर्थात् गृहमन्त्री अर्यालले पूरै गलत बोलेछन्। यतिबेला उनको व्यापक आलोचना भइरहेको छ।
तर जेनजी आन्दोलन भएको झन्डै डेढ महिनापछि आफ्नै निवास परिसरमा फेसबुक लाइभमा पत्रकारहरूसँग कुरा गर्दै गरेको अवस्थामा प्रकट भएका पूर्वऊर्जामन्त्री खड्का आफैँले स्वीकार गरेको कुरा के हो भने उनी यसअघि विदेशमै थिए। अर्थात् भारतमा थिए।
जेनजी आन्दोलनका बेला भदौ २४ देखि नेपाली सेनाको सुरक्षामा रहेका उनी त्यहाँबाट बाहिरिएपछि चार/पाँच दिन काठमाडौँमै रहेको तर लगत्तै बाहिर घुम्न निस्किएको उनले बताएका छन्।
तराईतिर (कहाँ हो, खुलाएका छैनन्) घुम्दाघुम्दै परिवारलाई नै डेंगी भएपछि आफू त्यतैबाट भारत गएको उनले पत्रकारहरूलाई सुनाएका छन्। भारतको मेदान्त अस्पतालमा ११ दिन उपचार गराएपछि डेंगी निको भएको र त्यसपछि स्वदेश फर्किएको उनले बताएका छन्।
तर कहिले फर्किए? खुलाएका छैनन्। सम्भवत: अघिल्लो दिन आइतबार फर्किए कि?
अझै सानो बच्चा र श्रीमती भारतमै रहेको पनि उनले उल्लेख गरेका छन्।
‘हिजोअस्ति समाचार सम्प्रेषण गरेर अमेरिकामा पुग्नुभो। म त आर्मीको उसमा (सुरक्षामा) थिएँ, निस्किनेबित्तिकै चार/पाँच दिन तपाईंहरूसँगै भेटघाट गरेँ। म पनि त मान्छे हुँ। मेरो पनि परिवार छ, सानो ५ वर्षको बच्चा छ। मानवीय कुरा पनि हेर्नुपर्छ नि! उनीहरूलाई यत्रोचैँ.., मलाई पो नलाग्या होला त। म पोलिटिक्स गर्ने मान्छे', उनले भनेका छन्, ‘तर मेरो परिवार त्यो सहन गर्न सकेन होला। अलि यसो घुम्न निक्लिनुपर्यो एकदुई दिन भनेर तराईतिर निस्केँ। डेंगु भएछ। इन्डिया गएँ। ११ दिन मेदान्त हस्पिटलमा रेकर्ड नै छँदै छ। उपचारका क्रममा बस्या छु। बच्चासहित डेंगु भएर, मलाई पनि भयो। डेंगु क्लियर भो, तर ट्रमाजस्तो भएछ श्रीमतीलाई, उपचारका क्रममा अहिले पनि उहीँ छन्, मैले त्यो छोडेर यो समाजलाई अझ दिग्भ्रमित पारेर सरकारमा बस्ने मान्छेले, मिडियाका, कथित मिडिया भन्छु मैले– मिडिया होइन, मिडियाको धर्म, काम, कर्तव्य यस्तो हुनु हुँदैन, म एकजनाको पछाडि यसरी लाग्दा सिंगो समाज भ्रमित भो नि! यो दुःख लागेर आएको छ। हाम्रो पत्रकारिता कता गइराख्या छ? खोज पत्रकारिता भन्छौँ हामी। हाम्रो समाजलाई कहाँ पुर्याउन लागिराखिया छ? सरकारको गतिविधि के हो? सरकारले मलाई वारेन्ट चिठी काट्या छ? केही काट्या छ? कहीँ नजानु भन्या छ? मेरो के रोक गर्या छ र म भागेँ भन्ने सरकारले! मिल्छ? उहाँ त कानुनको विद्यार्थी गृहमन्त्री।’
यस सन्दर्भमा यस्तो छ उनको थप कुरा-
हिजोअस्ति समाचार सम्प्रेषण गरेर अमेरिकामा पुग्नुभो। म त आर्मीको उसमा (सुरक्षामा) थिएँ, निस्किनेबित्तिकै चार/पाँच दिन तपाईंहरूसँगै भेटघाट गरेँ। म पनि त मान्छे हुँ। मेरो पनि परिवार छ, सानो ५ वर्षको बच्चा छ। मानवीय कुरा पनि हेरर्नुपर्छ नि! उनीहरूलाई यत्रोचैँ, मलाई पो नलाग्या होला त। म पोलिटिक्स गर्ने मान्छे। ग्राउन्डबाट आको मान्छे। म तपाईंहरूलाई भन्दिऊँ– म ४ कक्षा पढ्दादेखि मेरो आफ्नो खर्च म आफैँ, पढ्नेसड्ने म आफैँ गरिरा’थेँ। मेरो बुवाआमा जिउँदै हुनुहुन्छ। सोधे हुन्छ। उहाँहरूले १ रुपैयाँ दिनुपरेको थिएन। मैले अंशका नाममा १ रुपैयाँ लिएको छैन। म त्यो मान्यता, त्यो दुःख, त्यो परिश्रम गर्न सक्ने मान्छे हुँ। मैले सहज रूपमा लिएको छु, यी सबै कुरा। कानुन छ, त्यल्ले कार्यान्वयन गर्ला। उमेर छ बाँकी, फेरि कमाउँला। राजनीति गर्दाखेरि बीपीहरू मुलुकका प्रति जनतालाई रैतीलाई नागरिक बनाउने अभियानमा लाग्दाखेरि पूरा जीवन जेलमा बिताउनुपर्यो। त्यो त पढेरै आको छु, भोगेरै देखेरै आको छु मैले। मैले त्यो कुरा मस्तिष्कमा राखेर राजनीति सुरु गर्यो हो नि त। यस्ता झिनामसिना कुराले छुने, डराउने कुरै रहन्न। सबै कुरा फेस गर्न तयार छु, व्यक्तिगत। तर मेरो परिवार त्यो सहन गर्न सकेन होला। अलि यसो घुम्न निक्लिनुपर्यो एकदुई दिन भनेर तराईतिर निस्केँ। डेंगु भएछ। इन्डिया गएँ। ११ दिन मेदान्त हस्पिटलमा रेकर्ड नै छँदै छ। उपचारका क्रममा बस्या छु। बच्चासहित डेंगु भएर, मलाई पनि भयो। डेंगु क्लियर भो, तर ट्रमाजस्तो भएछ श्रीमतीलाई, उपचारका क्रममा अहिले पनि उहीँ छन्, मैले त्यो छोडेर यो समाजलाई अझ दिग्भ्रमित पारेर सरकारमा बस्ने मान्छेले, मिडियाका, कथित मिडिया भन्छु मैले– मिडिया होइन, मिडियाको धर्म, काम, कर्तव्य यस्तो हुनु हुँदैन, म एकजनाको पछाडि यसरी लाग्दा सिंगो समाज भ्रमित भो नि! यो दुःख लागेर आएको छ। हाम्रो पत्रकारिता कता गइराख्या छ? खोज पत्रकारिता भन्छौँ हामी। हाम्रो समाजलाई कहाँ पुर्याउन लागिराखिया छ? सरकारको गतिविधि के हो? सरकारले मलाई वारेन्ट चिठी काट्या छ? केही काट्या छ? कहीँ नजानु भन्या छ? मेरो के रोक गर्या छ र म भागेँ भन्ने सरकारले! मिल्छ? उहाँ त कानुनको विद्यार्थी गृहमन्त्री।
Shares

प्रतिक्रिया