प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग आज दिउँसो गर्न लागेको छलफफलमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीका सम्बन्धमा मंगलबार दिउँसो चार बजे दलहरूसँग छलफल गर्न लागेकी हुन्। उनले विघटित संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त सात दलका प्रतिनिधिलाई बालुवाटार बोलाएकी छन्।
सात दलबाट २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।
‘प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा हाम्रो पार्टीबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने तय भएको छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपालखबरसँग भने, ‘उहाँहरूले बैठकमा पार्टीको स्पष्ट धारणा राख्नु हुनेछ।’
सरकारले आगामी फागनु २१ गतेको लागि प्रतिनिधसभा निर्वाचन मिति तोकेको छ। तर, एमालेले भने निर्वाचन हुने वातावरण मुलुकमा नरहेको भन्दै विघटित संसद् नै पुन:स्थापना हुनुपर्ने अडान राख्दै आएको छ।
एमालेको केही दिनअघि सकिएको केन्द्रीय समिति बैठकले पनि संसद् पुन:स्थापनाको पक्षमा अभियान अघि बढाउने निर्णय गरेको थियो।
निर्वाचन तयारीबारे आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री
Shares

प्रतिक्रिया