प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा प्रमुख राजनीतिक दलहरूसँल छलफल गरेकी छन्। मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छलफलमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दललाई बोलाइएको छ।
कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी छन्। एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन्।
माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुनेछन् भने रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी हुने बताइएको छ।
यस्तै, राप्रपाबाट महामन्त्री राजेन्द्र गुरूङ र प्रवक्ता मोहन श्रेष्ठ जाने भएका छन्। जसपाबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी हुँदैछन्। त्यस्तै नेताहरू रेशम चौधरी, सर्वेन्द्रनाथ शुक्ला, प्रेम सुवाल र चन्दन सिंह सहभागी हुनेछन्। एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन्।
त्यस्तै पर्यवेक्षकको रुपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी छन्।
सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकेको छ। प्रधानमन्त्रीले यही निर्वाचन केन्द्रित छलफलका लागि दललाई बोलाएकी हुन्। आजै उनले जेनजी आन्दोलनका घाइतेहरूसँग पनि ४ घण्टाबढी छलफल गरेकी थिइन्।
Shares

प्रतिक्रिया