नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। केन्द्रीय समितिको जारी बैठकमा उनले महाधिवेशन कार्यतालिका पुस १६ देखि १९ गतेसम्म गर्ने गरी तालिका पेस गरेका हुन्।
कांग्रेसमा महाधिवेशन फागुन २१ को चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद छ। सभापति शेरबहादुर देउवासहित संस्थापन समूह भने आगामी वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। विवादकै बीच थापाले आफूले तयार पारेको कार्यतालिका बैठकमा पेस गरेका हुन्।
त्यस्तै गगन थापा पक्षधर महाधिवेशन प्रतिनिधिहरूले भने विशेष महाधिवेशनका लागि हस्ताक्षरसमेत बुझाइसकेका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो।
आजमात्रै विशेष महाधिवेशन पक्षधरले काठमाडौँको नयाँ बानेश्वरमा भेला आयोजना गरेको छ। उक्त भेलाले पनि नियमित महाधिवेशन समयमै गर्न नसक्ने भए तत्काल विशेष महाधिवेशनको तालिका ल्याउन आग्रह गरेको छ।
उनले आगामी मङ्सिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरणको तालिका पेस गरेका छन्। त्यस्तै उनले मंसिर १०-२० गतेसम्म क्रियाशील छानबिन गर्ने, मंसिर २४ गते निर्वाचन समितिलाई विवरण हस्तान्तरण गर्ने, मंसिर २७ गते वडा अधिवेसन गर्ने प्रस्ताव गरेका छन्। त्यस्तै पुस ५ गते क्षेत्रीय अधिवेशन गर्ने र पुसको १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने उनको प्रस्ताव छ। थापाले संस्थापन इतर समूहको पक्षबाट यो प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका हुन्।
Shares

प्रतिक्रिया