नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत भदौ २३ र २४ गतेको जेन-जी ओन्दलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गर्ने काम भएको टिप्पणी गरेका छन्।
मंगलबार रुपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्। उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन जेन–जी पुस्ताले आन्दोलन गरेको भएपनि आन्दोलनको दुरुपयोग गरी सरकारविरुद्ध संगठित रुपमा प्रहार गर्ने काम भएको टिप्पणी गरे।
मुलुकलाई देशव्यापी रुपमा आक्रमण गरेर सरकार अपदस्थ गर्ने केही शक्ति समूहको योजना रहेको कुरा अन्ततः पुष्टि भएको उनको भनाइ छ। उनले जेन–जी आन्दोलन सफल भइसकेपछि घुसपैठ गर्ने शक्तिहरुको कारण नयाँ बानेश्वर क्षेत्रमा गोली चलाउनुपर्ने स्थिति सिर्जना गरिएको जिकिर गरे।
उनले भने, ‘किशोर किशोरीहरुले भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटोस् भनेर सामाजिक सञ्जालमा उत्रिएका थिए। जसरी उनीहरु सोसियल मिडियामाथिको नियन्त्रण खोल्नुपर्ने माग राखेर उनीहरु सडकमा उत्रिएका थिए उनीहरूको उक्त आन्दोलनको दुरुपयोग गरेर सरकारका विरुद्धमा संगठित रुपमा प्रहार गर्ने, एकसाथ देशव्यापी रुपमा आक्रमण गर्ने र सरकार अपदस्थ गर्ने खालको योजना रहेछ भन्ने कुरा पुष्टि भयो।’
उनले अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको आरोप पनि लगाए। सरकारले निर्वाचनको तयारी नगरेर राजनीतिक दल र तिनका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको पौडेलको आरोप छ।
Shares

प्रतिक्रिया