राजनीति


हिजो केपी ओलीसँग मिल्न नसक्ने छिनाफाना भयो: झलनाथ खनाल (अन्तर्वार्ता)

हिजो केपी ओलीसँग मिल्न नसक्ने छिनाफाना भयो: झलनाथ खनाल (अन्तर्वार्ता)

फाइल तस्बिर


जनार्दन पोखरेल
कात्तिक १९, २०८२ बुधबार ९:५, काठमाडौँ

मंगलबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दैछन्। नेपालका वामपन्थी दलहरूबीच एकता र विभाजनको श्रृंखला चलिरहेका बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले ओली र प्रचण्डलाई भेट्नुलाई धेरैले चासोका साथ हेरेका छन्। यसै सन्दर्भमा नेपालखबरले नेता खनालसँग गरेको संक्षिप्त कुराकानी: 

तपाईँले आज माओवादी अध्यक्ष प्रचण्डलाई पनि भेट्दै हुनुहुन्छ हो? 
म केही बेरपछि माओवादी अध्यक्ष प्रचण्डलाई भेट्दैछु। त्यो साँचो कुरा हो।

हिजो तपाईँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको थियो। आज फेरि प्रचण्डलाई भेट्दै हुनुहुन्छ। यसको खास कारण के हो?
मेरो मान्यता अलि वृहत वाम युनिटिमा जाऔँ भन्ने हो। अहिले सारा देशभरका वामपन्थीहरूलाई एकताबद्ध गर्न जरुरी छ। यतिबेला एउटा-एउटा, फ्याक्सन-फ्याक्सन मात्रैको युनिटीले वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन सकिँदैन। वृहत रुपमा जाऔँ भन्ने मेरो मान्यता हो।

तपाईँको यो मान्यतामा एमाले अध्यक्ष ओलीको धारणा के पाउनु भयो? 
खासमा मैले ओलीजीसँग यो विषयमा कुरा गर्न भन्दा पनि धन्यवाद दिनको लागि भेट्न गएको हो। तर, उहाँसँगको भेटमा यी विषयमा पनि कुरा त भए। म जतिबेला संकटमा परेँ, मेरी श्रीमतीमाथि गएकाे भदौ २४ गते जुन प्रकारको हमला भयो, भारतमा लगेर मिसेजलाई थप उपचार गर्नुपर्ने अवस्था आयो। त्यो बेला ओलीजीले मप्रति जुन सहयोग र सद्‍भाव देखाउनु भयो, त्यसको लागि धन्यवाद दिनको लागि हिजाे म उहाँकाे निवासमा गएको थिएँ। सहयाेगकाे लागि मैले उहाँलाई धन्यवाद दिएँ। त्यो शिलशिलामा केही राजनीतिक कुरा पनि भए। 

उहाँ (ओली)ले तपाईँ पनि यतै आउनुस् भन्ने कुरा गर्नु भएन? 
त्यस्तो खासै कुरा भएन। मैले सोध्न चाहीँ सोधेँ। तपाईँहरूको स्थिति के छ, आदि इत्यादी भनेर साेधेँ। उहाँले एकता गर्दा हामी समूहगत, पार्टीगत त्यस्तो एकता केही पनि गर्दैनौँ भन्ने कुरा गर्नुभयाे। व्यक्तिगत रुपमा आउनेहरूलाई हामी पार्टीमा स्वागत गर्छौँ। हाम्रो पार्टीको विचार, नीति स्वीकार गरेर आउनेहरूलाई हामी स्वागत गर्छौँ भन्नु भयो। समूहगत रुपमा कसैसँग एकता नगर्ने भन्ने कुरा गर्नुभयो। हाम्रो नीति नै यस्तो छ भन्नुभयो। उहाँका कुरा मैले सुनेँ मात्रै। त्यसमा मैले कुनै प्रतिक्रिया, वहस वा छलफल गरिँन। अन्तिममा मैले फेरि उहाँलाई धन्यवाद दिएर फर्किँए। 

वाम एकताको विषयमा ओलीजीसँग कुनै कुरा गर्नु भएन त?
त्यो त गरेँ। वृहत वाम एकतामा जाने कुरा के छ? सबै वामपन्थी एकतावद्ध हुन पाए हुन्थ्यो भन्ने कुरा चाहीँ गरेँ। मैले त्याे भन्दा उहाँले यहाँ को छ र वाम भन्ने प्रश्न गर्नुभयो। कोसँग वाम एकता गर्ने? म कोही वाम नै देख्दिन भन्नुभयो। उहाँले कसैलाई वाम नै नदेखेपछि त वाम एकताको कुरा गर्नुको कुनै अर्थ भएन नि।  

माधव नेपालसहित तपाईँहरूको मूल पार्टीले आज माओवादी केन्दसहितका वाम दलसँग एकता गर्दैछ। तर, त्यो एकता प्रक्रियामा तपाईँसहितका केही नेता सहभागी नहुने तयारीमा हुनुहुन्छ। अब तपाईँहरू के गर्नुहुन्छ?
सबै वामपन्थी शक्तिलाई कसरी एक ठाउँमा ल्याउन सकिएला भन्ने चिन्तामा म छु। अब आज प्रचण्ड कमरेडसँग म यो विषयमा कुरा गर्दैछु। उहाँहरूको एकता प्रक्रियामा कस्तो खालका धारहरू छन्। हामीसँग पनि यत्राविधि मान्छे छन्। त्यो पङ्ती त्यहाँ अट्छ कि अट्दैन? अटाउँदा के आधारमा अटाउँछन्? यो बारेमा पनि म उहाँसँग छलफल गर्छु। सबै एकतावद्ध भएर जाने आधार तयार भयो भने हामी सोच्न सक्छौँ। म एकताको विरुद्धमा छैन। म त झन् वृहत वाम एकताको पक्षमा छु। खाली दुईटा समूहबीच मात्रै एकताको पक्षमा होइन, व्यापक एकताको कुरा त हो नि मैले भन्ने गरेको। 

प्रचण्ड र माधव नेपालसँगै जाने सम्भावना तपाईँको अझै छ? 
उहाँहरूसँग कुरा गरेपछि मात्रै यो विषय प्रष्ट हुन्छ।

यसमा अहिले नै कुनै निष्कर्ष निकालि सक्नु भएको छैन?
हो, अहिले नै त्यस्तो निष्कर्ष केही छैन। आज छलफल गरेपछि टुंगिन्छ। 

तपाईँको त जबजप्रति नै विमति छ। त्यसरी हेर्दा त केपी ओली भन्दा प्रचण्ड र माधव नेपाल नै नजिक हुनुहुन्छ होला नि?
उहाँ (ओली) ले त हिजोको भेटमा प्रष्टसँग भनिसक्नुभयो, व्यक्तिगतरुपमा आए मात्रै स्वीकार गर्ने भनेर। नीति कार्यक्रम स्वीकार गरेर आए लिने, नत्र नलिने भनेपछि उहाँसँग छिनाफाना नै भयो नि। 

बरु अलिक निकटता तपाईँको प्रचण्ड– माधव नेपालतिरै देखियो होइन? 
हो। सम्भावना प्रचण्ड, माधव नेपालतिरै अलिक बढी देखिन्छ। हेरौँ के हुन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad