नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले मंगलबारको केन्द्रीय समिति बैठकमा पेस गरेको महाधिवेशनको तालिका व्यक्तिगत भएको बताएका छन्।
बुधबारको बैठकको सुरुवातमै खड्काले यादवले पेस गरेको तालिका व्यक्तिगत भएको जानकारी गराएका हुन्।
बैठकमा आज विभिन्न मिडियाले लेखेको समाचारबारे नेताहरूले विषय उठाएपछि खड्काले भने, 'त्यो तालिकासहितको कुरा उहाँको धारणा भनिसकेपछि आज कुन पत्रिका र कुन मिडियाले के लेख्यो भनेर पत्रिकाको कुरा गर्न सान्दर्भिक होला जस्तो लाग्दैन।'
मंगलबारको बैठकमा यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसअघि महामन्त्री गगनकुमार थापाले महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने गरी तालिका पेस गरेका थिए। कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विवाद छ।
उनले मंगसिर २० गतेसम्म क्रियाशील र नवीकरण वितरणको मिति प्रस्ताव गरे। त्यस्तै पुस ५ गतेसम्म नयाँ सदस्यता वितरण, पुस २० गतेसम्म निर्वाचन समितिलाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण, चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन गर्न यादवले प्रस्ताव गरेका थिए।
त्यस्तै उनले चैत २० गते संघीय निर्वाचन क्षेत्रीय अधिवेशन, ३० गते जिल्ला अधिवेशन, वैशाख १५ गते प्रदेश अधिवेशन र वैशाख २७-३० गतेसम्म १५औं महाधिवेशन गर्न प्रस्ताव गरेका थिए।
Shares

प्रतिक्रिया