राजनीति


मधेसमा अब कसरी बन्छ नयाँ सरकार?

मधेसमा अब कसरी बन्छ नयाँ सरकार?

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १५:३८, काठमाडौँ

जितेन्द्र सोनलले विश्वासको मत नपाएपछि मधेस प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ। 

मधेस प्रदेस सभाको सबैभन्दा ठूला दल नेकपा एमाले र दोस्रो ठूलो दल कांग्रेसले सरकार गठनको लागि आन्तरिक छलफल अघि बढाएका हुन्। 

एमालेकी प्रदेश सभा सदस्य शारदा थापाले साना दल सहभागी गठबन्धन सरकार ढलेकाले अब मधेसमा एमाले-कांग्रेस गठबन्धनको सरकार गठन हुने सम्भावना बढेको बताइन्। 

मधेस प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल छ। 

एकसय सात सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ५४ सांसद आवश्यक पर्छ। यहाँ एमालेको २५, कांग्रेसको २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९,  लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका एक-एक सांसद छन्। 

बहुमत सिद्ध गर्न नसकेर सोनल नेतृत्वको सरकार ढलेपछि एमालेले नयाँ सरकार गठनको लागि पहल अघि बढाएको हो।  एमाले प्रदेशसभा संसदीय दलका नेता सरोज यादवले हिजोदेखि नै विभिन्न पक्षसँग छलफल तीव्र पारेका छन्। 

तर, नयाँ सरकार गठनको विषयमा एमाले नेता यादवले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। उनका स्वकीय सचिव परमेश्वर साहले भने सबै पक्षसँग छलफल जारी भइरहेको बताए। 

सोनलले हिजो बुझाएको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हिजै स्वीकृत गरिसकेकी छन्। तर, अहिलेसम्म प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरेकी छैनन्। 

प्रदेश प्रमुखले आह्वान गरेपछि मात्रै सरकार गठनको नयाँ प्रक्रिया सुरु हुने छ।

प्रदेश प्रमुख भडारीले संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाए फेरि पनि सोनलले मुख्यमन्त्रीमा दावी पेस गर्ने लोसपाका महासचिव परमेश्वर साहले बताए। लाेसपा नेता साेनल यसअघि सोही धाराअनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। 

‘अबको नयाँ यात्राको लागि गठबन्धनका दलबीच आज बैठक गर्ने तयारी छ,’ साहले नेपालखबरसँग भने, ‘गठबन्धनका दलबीच जे सहमती हुन्छ, त्यही अनुसार हामी अघि बढ्छौँ। तर, प्रदेश प्रमुखले कुन धारा अनुसार अब सरकार गठनको लागि आह्वान गर्नुहुन्छ, त्यो प्रष्ट छैन।’

संविधानको धारा १६८(२) मा प्रदेशमा दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन हुने व्यवस्था छ।

तर केहीगरि प्रदेश प्रमुखले धारा १६८(३) अनुसार सरकार गठनको लागि आह्वान गरे एमालेको नेतृत्वमा सरकार गठन हुने सम्भावना रहन्छ। मधेस प्रदेश सभामा हाल एमालेबाट सरोज यादव दलको नेता छन्।

गएको असोज २२ गते कांग्रेस एमालेले मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्ताव गरेका थिए। तर, कांग्रेस एमालेकोविरुद्धमा पछि साना सबै दल एकठाउँमा आएपछि यादवले बहुमत सिद्ध गर्न नसकेपछि सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad