आसन्न प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न उचित वातावरण निर्माण गर्न सांसदहरूले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो ध्यानाकर्षण गराएका हुन्। तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकारसमक्ष रहेका चुनौतीहरुलाई औंल्याउदै उनीहरुले सरकारले दलहरुसँग समेत छलफल गरी रणनीतिका साथ काम गर्नुपर्ने धारणा राखे।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद उदयबहादुर बोहराले मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने अन्तरिम सरकारको मुख्य कार्यभार भएपनि सुरक्षा प्रवन्ध मुख्य चुनौती रहेको बताए।
उनले मतदान केन्द्रमा शान्ति–सुरक्षा कायम गर्न र राजनीतिक दलहबीच समन्वयका विषयमा गृह मन्त्रालय र सरकार दुवै सचेत रहन जरुरी रहेको धारणा राखे। उनले जेन–जी आन्दोलनको क्रममा भागेका कैदीबन्दी तथा लुटिएका हतियार फिर्ता ल्याउने सन्दर्भमा सरकारले दत्तचित्त भएर काम गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिलेको मुख्य चुनौती भनेको जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरू नै हो। त्यससध्ये पनि सात सय १८ वटा हतियारहरु प्रहरीले फिर्ता ल्याइसकेको कुरा आएको छ। जेन—जी आन्दोलनमा घुसपैठ गरेर ठूलो धनजनको क्षति भएको छ। यसमा संलग्न रहेकालाई कारबाही गर्ने र जेनजीका मागहरू पुरा गर्ने जिम्मेवारी पनि यो सरकारसँग छ।’
उनले जेन–जी आन्दोलनमा घुसपैठ गरेर सरकारी तथा निजी सम्पतीमाथि आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न समेत गृहमन्त्री अर्यालको ध्यानाकर्षण गराए।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले शान्तिपूर्ण र निष्पक्ष वातावरण निर्वाचन सम्पन्न गर्न उचित वातावरण बनाउन सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा राखे।
उनले प्रहरीको मबनोबल बढाउन तथा लुटिएका हातहतियारसँगै भागेका कैदीबन्दी फिर्ता गर्ने कुरामा गृहले विशेष रणनीतिका साथ काम गर्नुपर्ने बताए। उनले कारागारबाट भागेका कैदीहरुले समाजमा रहेको शुन्यताको फाइदा उठाउने गरेको भन्दै नागरिकको सुरक्षाको लागि सरकार गम्भीर हुनुपर्ने बताए।
उनले भने, ‘यो मुलुकमा हतियार बाहिर रहेर चुनाव भएको इतिहास छैन। हतियारसँगै अहिले अपराधी समेत बाहिर रहेको अवस्थामा अहिले समस्या देखिन्छ। प्रत्येक घरबाट वैदेशिक रोजगारीमा गएको अवस्थामा मधेशमा समेत शून्यताको फाइदा उठाएर अपराधीहरुले अपराध गरिरहेका छन्। तपाईं (गृहमन्त्री) दत्तचित्त भएर लाग्नुभयो भने मात्रै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्भव छ। यसमा हाम्रो पनि सहयोग छ।’
नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पतीमा भएको क्षतिको गम्भीर अनुसन्धान हुनुपर्ने माग गरिन्। उनले आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी विदेशी वा स्वदेशीको कसको इच्छाअनुसार भएको भनि अनुसन्धान गर्न जरुरी रहेको बताइन्।
उनले भनिन्, ‘हामीले लामो समयदेखि आन्दोलन भोग्दै आएका हौं। आजसम्म हामीले जनताले दिएको पानी बाहेक केही खाएनौं। हामी आन्दोलन गरेरै आएको भएपनि कसैको लुटेर केही पनि खाएनौं। हामी आन्दोलनबाटै आएको मान्छे पनि राष्ट्रिय सम्पतीमा क्षति भएको पनि हामीले जानेका थिएनौं। हाम्रो जीवनमा पहिलोचोटी यत्रो धेरै राष्ट्रिय सम्पतीमा क्षति भयो। यो विदेशीको इच्छाअनुसार भत्केको छ कि नेपालीको इच्छाअनुसार यसको अनुसन्धान हुनुपर्छ।’
नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले २४ भदौको आन्दोलन नेपाललाई असफल राष्ट्र बनाउनको लागि भएको टिप्पणी गरे। व्यवस्थापिका न्यायपालिका र कार्यपालिका तीनै क्षेत्रमा एकचोटि आक्रमण भएको उल्लेख गर्दै उनले यो राष्ट्रविरुद्धको गम्भीर षड्यन्त्र भएको टिप्पणी गरे।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले एकमत भएर निर्वाचन तोकिएको मितिमै सम्पन्न गर्नुपर्ने र त्यसका लागि शान्ति–सुरक्षा सुनिश्चित गर्न सरकार र गृह मन्त्रालयले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
Shares

प्रतिक्रिया