एक सताअघि मात्रै गठन भएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको स्थायी समिति सदस्यहरूको सूचीमा १३ जना महिला सदस्य थप गरेको छ।
प्रचण्डको सचिवालयले शुक्रबार बिहान सूचना जारी गर्दै कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भै हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम निर्वाचन आयोगमा बुझाइएको जनाएको छ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित एक दर्जनभन्दा बढी वाम विचारधाराका समूहहरू मिलेर यही कात्तिक १९ गते नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको थियो।
सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचनको प्रयोजनार्थ यही ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्ने सूचना निर्वाचन आयोगले जारी गरेको छ।
तर, दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएको भन्दै प्रचण्डको सचिवालयले आज सूचनामार्फत् त्यसबारे स्पष्टीकरण दिएको छ।
पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुने र यसका लागि गृहकार्य भइरहेको प्रचण्डको सचिवालयले भनेको छ। एकीकृत पार्टीको केन्द्रीय समितिसहितका सबै संरचना समेत यही प्रक्रियाअनुसार टुंगो लाग्नेछ।
‘निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको थियो,’ प्रचण्डको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भै हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पुर्याइएको हो। यो कुनै अलग संरचना होइन। बिधान बमोजिम संरचना बनाउन बाँकी छ।यसैले आयोगमा पेश गरिएको सूचीबारेका कुनै पनि भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा हार्दिक अनुरोध छ।’
तर प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यले निर्वाचन आयोगमा बुझाएको स्थायी समितिको विवरणमा महिला सदस्य कम भएपछि थप महिलाको सूची पठाइएको बताए।
‘यो स्थायी समिति सदस्यको सूची भन्दा पनि निर्वाचन आयोगमा पार्टीले बुझाएको स्थायी समिति सदस्यको विवरणमा ३३ प्रतिशत महिला नपुगेपछि संख्या पुर्याउन थप गरिएको विववरण मात्रै हो,’ आचार्यले भने।

Shares

प्रतिक्रिया