राजनीति


जनार्दनलाई धोका दिएको होइन, पार्टी एकताको पक्षमा उभिएको मात्र हुँ : शिवकुमार मण्डल (अन्तर्वार्ता)

जनार्दनलाई धोका दिएको होइन, पार्टी एकताको पक्षमा उभिएको मात्र हुँ : शिवकुमार मण्डल (अन्तर्वार्ता)

सुमन सुस्केरा
कात्तिक २८, २०८२ शुक्रबार २१:२१, विराटनगर

नेकपा माओवादी केन्द्रले अन्य दलहरूसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गर्ने निर्णय गरेसँगै जनार्दन शर्मा सो पार्टीबाट अलग भए। तर, माओवादीभित्र जनार्दन निकट भनेर चिनिएका शिवकुमार मण्डलले उनलाई साथ दिएनन्। उनले शर्माको साथ किन छाडे त? यसै विषयमा मण्डलसँग नेपालखबरले गरेको कुराकानी :

लामो समय जनार्दन शर्मासँग एउटै लाइनमा काम गर्नुभयो। एकाएक अलग हुँदा धोका दिएको जस्तो भएन?
धोका दिएको जस्तो मलाई लागेको छैन। म यो घटनालाई व्यक्तिगत होइन, राजनीतिक परिस्थितिको परिप्रेक्ष्यमा बुझ्छु। कमरेड जनार्दन शर्माले पार्टीभित्र आन्तरिक सुधार, वैचारिक स्पष्टता र संगठनात्मक सुदृढीकरणका विषयहरू उठाइरहनुभएको थियो। ती विषयहरू आज पनि अन्त्य भइसकेका छैनन्। हामीले उठाएका प्रश्नहरू अझै जीवित छन्। 

सही समयमा, पार्टीको बैठकमा, तिनै विषयहरूले पुनः छलफल पाउनेछन्। अहिलेको विषम राजनीतिक अवस्थाले पार्टीलाई एक ठाउँमा राखेर अघि बढ्नु हाम्रो दायित्व बनायो। त्यसैले एकताको पक्षमा उभिनुपर्ने परिस्थिति सिर्जना भएको हो।

तर, परेको बेला जनार्दन शर्मालाई साथ दिनुभएन नि? त्यो ठिक हो त?

हामी आफैँलाई पनि त्यो प्रश्नले छुन सक्छ। हिजो उहाँले उठाएका मुद्दाहरू केवल उहाँको मात्र होइन, हाम्रो सामूहिक चिन्ता थियो। उहाँका विचारसँग हामी सँगै थियौँ। सँगै हिडेका हौँ। तर आज जुन राजनीतिक सम्बन्ध, स्थिरता र पार्टीभित्र एकता आवश्यक भएको अवस्था बन्यो, त्यसले हामीलाई अस्थायी रूपमा केही मुद्दा ‘थाती’ राखेर अघि बढ्न बाध्य गरायो। होला, हामीलाई धेरैले धोका दियो भन्ने पनि बुझ्नु भएको हुनसक्छ त्यो पक्कै हैन। 

जनार्दन कमरेडसँग संवाद टुट्यो, वा मुद्दा सकियो, वा उहाँले उठाएको एजेन्डा अप्रासंगिक भयो भन्ने अर्थ कदापि राख्दैन। भविष्यमा परिस्थितिले फेरि व्यापक एकता वा पुनःसंयोजनका सम्भावनाहरू खुलै छन्।

तपाईंहरू शक्तिको पछि लाग्नु भएको हो?
यदि शक्ति, पद वा अवसर नै मेरो प्राथमिकता भएको भए जनयुद्धदेखि नै माओवादी आन्दोलनमा किन लाग्थेँ? जनयुद्धको समयमा न सत्ता थियो, न मन्त्री–सांसद बन्ने आशा थियो, न कुनै राज्यसत्ता नजिक थिएँ। त्यो बेला माओवादीमा लाग्दा राजनीतिक जोखिम, दमन र अनिश्चितता मात्र थियो। आज पनि म पार्टीभित्र रहेर, नेतृत्वकै बीचमा बसेर, आवश्यक प्रश्नहरू उठाउने पक्षमा छु। छुट्टै संघर्षबाट या मूल धारभन्दा बाहिर बसेर होइन, मूल धारमा नै बसेर हामीले हाम्रा फरक विधार र फरक धारणालाई प्रमाणित गरेर जानुपर्छ भन्ने लागेको छ। 

त्यसो भए अब पार्टीभित्र अन्तरसंघर्षलाई निरन्तरता दिन फेरि फरक धार चलाउनु हुन्छ?
राजनीतिमा अन्तरसंघर्ष स्वाभाविक प्रक्रिया हो। एक समस्याको समाधान अर्को समस्याको जन्म हो। इतिहासभरि कम्युनिस्ट आन्दोलन यही पद्धतिमा अघि बढेको छ। हिजो वैद्य–प्रचण्ड विवादले एउटा बहस जन्मायो। पछि अर्को वैचारिक मतभेदले नयाँ विमर्श ल्यायो, आज फेरि नयाँ द्वन्द्वहरू देखा परिरहेका छन्।

अन्तरसंघर्षको उद्देश्य विनाश होइन। संरचनात्मक सुधार, वैचारिक स्पष्टता र राजनीतिक दिशानिर्देशन हो। हामीले लिने नयाँ विचार र सिद्धान्त भनेको अन्तत पार्टी बनाउन बलियो बनाउनकै लागि हो। 

अहिले भएको कम्युनिस्ट पार्टीहरूको एकताले देशको स्थिरता, शान्ति, विकास र ‘शक्तिशाली कम्युनिस्ट ध्रुव’ निर्माण गर्ने आधार दिन्छ?
एकता प्रक्रिया भर्खर सम्पन्न भएको छ। केही संरचना, केही संगठनात्मक संयोजन अझै प्रक्रियामै छन्। 

अब महत्त्वपूर्ण कुरा के हो भने, एकीकृत नेतृत्वले ल्याउने कार्यक्रम, समाजवादको मार्गचित्र कस्तो बन्छ, संगठन सुदृढीकरण कसरी हुन्छ, संरचनाहरू कसरी व्यवस्थित हुन्छन्। यसले नै एकताको वास्तविक परिणाम निर्धारण गर्छ। 

अहिले सबै कुरा निश्चित भइसकेको छैन। छलफलमै रहेका र निचोडमा नपुगेको अवस्थामा अदूरदर्शी निष्कर्ष निकाल्नु हुँदैन। हामीले पनि उठाउने, सुधार खोज्ने र वैचारिक बहस राख्ने ठाउँ प्रशस्त छ। 

एकीकरणपछि तपाईंहरूले ‘माओवाद’ छोड्नुभयो। तपाईंले यसलाई कसरी लिनुभएको छ?
यो प्रश्न गम्भीर छ र धेरै माओवादी कार्यकर्ताका मनमा यो विषय छ। अझ भन्ने हो भने धेरै माओवादी कार्यकर्ताको मनमा यसले चोट दिइरहेको छ। हाम्रो आन्दोलन, माओवाद, जनयुद्ध, नेपाली क्रान्तिको मौलिकता, प्रचण्डपथ यी आधारहरूमा खडा भएको हो। यी सिद्धान्तहरू मात्रै होइनन्। यी त हाम्रो इतिहास, आन्दोलन, त्याग, बलिदान र हजारौँ सहिदहरूको रगत हो।

अहिले राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, आन्तरिक द्वन्द्व र संरचनागत समस्याका कारण केही वैचारिक लचिलोपन देखिएको छ।

तर प्रश्न सिद्धान्त परित्याग हो कि परिस्थिति–अनुसारको समायोजन भन्ने हो। यो बहस अधुरो छ र यसको उत्तर पार्टी अध्यक्षसँग गहिरोसँग मागिनुपर्छ।

मेरो अडान स्पष्ट छः माओको योगदान, प्रचण्डपथको ऐतिहासिक भूमिका, नेपाली क्रान्तिको वैचारिक विकास यी सबैलाई कुनै न कुनै रुपमा दस्ताबेजीकरण गर्नैपर्छ। इतिहासलाई मेटेर अघि बढ्ने परम्परा माओवादीको होइन।

तपाईंहरूले उठाएको फरक विचार अब मूलधारमा नै विलय भयो भन्ने बुझ्दा भयो होइन?
हामी आज पनि पार्टीभित्र सुधार, पारदर्शिता, वैचारिक स्पष्टता, जनताको मुद्दा, संगठन सुदृढीकरणजस्ता विषयमा दृढ छौँ। एकता प्रक्रियामा उभिनुको अर्थ सिद्धान्त छोड्नु होइन। हामीले उठाएका मुद्दा भोलिका नीतिगत बैठकमा फेरि उठ्नेछन्। 

आज हामीले जनार्दनसँग विचारमा सँगै भए पनि पार्टीभित्रको एकता र मूल मर्मलाई छाड्न नसकेको त हो। भोलि फेरि सँगै हिँड्ने कुरामा दुईमत छैन। राजनीतिमा ‘अन्तिम विभाजन’ भन्ने हुँदैन। स्थिति सही बनेमा साझा लक्ष्यका नाममा पुनः एकता सम्भव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad