राजनीति


निर्वाचन नै सही बाटो हो : पूर्व राष्ट्रपति भण्डारी

निर्वाचन नै सही बाटो हो : पूर्व राष्ट्रपति भण्डारी

नेपालखबर
मंसिर १, २०८२ सोमबार २०:२२, काठमाडौँ

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले देखिएको समस्याको निकासका लागि सही बाटो निर्वाचन नै भएको बताएकी छन्। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटवार्तामा पूर्व राष्ट्रपति भण्डारीले निर्वाचन नै सही बाटो भएको बताएकी हुन्। ‘निर्वाचन नै अहिलेको निकासको सही बाटो हो, यसका लागि सरकारले सोहीअनुसारको माहोल बनाउनुपर्छ,’ भण्डारीले भनिन्, ‘निर्वाचनमा सबै दलहरु सहभागी हुनुपर्छ।’   

पूर्व राष्ट्रपति भण्डारीको बालुवाटारस्थित निवासमा सोमबार भएको भेटमा मुलुकको समसामयिक परिस्थितिबारे विचारविमर्श भएको जनाएको छ। भेटका क्रममा सञ्चारमन्त्री खरेलले सरकारले गरिरहेको काम, सरकारको प्राथमिकता, आगामी निर्वाचनको तयारी लगायत विषयमा पूर्व राष्ट्रपतिलाई जानकारी गराए। 

मन्त्री खरेलले सरकारले निर्वाचनको माहोल बनाइरहेको र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी गरिरहेको अवगत गराए। सञ्चारमन्त्री खरेलले आगामी निर्वाचनका लागि सबै राजनीतिक दलहरू सकारात्मक रहेको र केही दलले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरणका लागि चासो देखाए अनुरुप सरकारले निर्वाचनको सुरक्षा लगायत तयारी गरिरहेको पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराए।

उनले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले निर्वाचन सम्पन्न गर्ने, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, नवप्रवर्तन लगायतका कामलाई प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गरे। 

सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरुसँग संवाद अघि बढाएको छ। त्यसै क्रममा सञ्चारमन्त्री खरेलले पूर्व राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad