शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी टोलीलाई सोमबार दिएको सुझावको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।
शिक्षा प्रणाली सुधारका विभिन्न माग राख्दै शिक्षान्त्री पुनलाई ज्ञापनपत्र बुझाउन जेनजी २.० टोली सोमबार सिंहदरबार पुगेका बेलाको भिडिओ हो त्यो।
जसमा मन्त्री पुनले आफूले सबै माग पूरा गर्न नसक्ने बताउँदै जेनजीलाई यसका लागि आफैँ निर्वाचनमा भाग लिएर जितेर आफ्नै सरकार बनाउन सुझाव दिइरहेका छन्।
‘अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने। यो भन्दा अर्को उपाय छैन’ , मन्त्री पुन भिडिओमा भनिरहेका छन्, 'यहाँ क्यामेरा तेर्साएर बस्ने होइन। यस्तो किसिमको माग मन्त्रालय आउँदै मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँगाउँमा जाने हो । तिमीहरूको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ।'
उनले अगाडि भनेका छन्, 'अब जेनजीका भाइबहिनीहरू काठमाडौँ बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरू ल्याउने र यस्ता किसिमका मागहरू पूरा गर्ने। केही मागहरू विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन।
भिडिओ-
जेनजी २.० ले ज्ञापनपत्रमा १६ वर्षको उमेरमा एसईई पास गरी सीटीईभीटीमा पढेर देशविदेशमा काम गरी जीविका चलाउन तथा देश विकासमा योगदान गर्न चाहने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका समस्या एक हप्ताभित्र समाधान गर्न शिक्षामन्त्री पुनसँग माग गरेका छन्।
यस्तै उनीहरूले सीटीईभीटीको छनोट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई पढ्ने व्यवस्था गर्न पनि माग गरेका छन्।
Shares

प्रतिक्रिया