राजनीति


चुनावमा कुलमान, रवि र बालेनको एउटै ‘फोर्स’ बनाउन अमरेश सक्रिय

चुनावमा कुलमान, रवि र बालेनको एउटै ‘फोर्स’ बनाउन अमरेश सक्रिय

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १२:२७, काठमाडौँ

निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आगामी चुनावमा नयाँ शक्तिहरूको एउटै ‘फोर्स’ निर्माणको लागि सक्रियता बढाएका छन्। 

जेनजीकासमूहसहित विभिन्न कित्तामा छरिएका नयाँ शक्तिहरूलाई चुनाव केन्द्रीत एउटै फोर्समा समेट्न आफू सक्रिय रहेको सिंहले बताए। 

‘मैले केही दिनयता दुईपटक नक्खु कारागारमै गएर रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर यस विषयमा छलफल गरेँ,’ सिंहले नेपालखबरसँग भने, ‘रविजीलाई भेटेपछि मैले कुलमान जीलाई पनि भेटेँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ का प्रतिनिधिहरुसँग पनि यसबारेमा छलफल गरेको छु। उहाँहरू सबै चुनाव केन्द्रीत एउटै फोर्स निर्माणमा सकारात्मक देखिनु भएको छ।’ 

उनले कांग्रेस, एमाले, माओवादीसहितका पुराना दलको सिन्डिकेट तोड्न नयाँ शक्तिहरूले आगामी चुनावमा एउटै फोर्स बनाउनु पर्ने अवस्था आएको बताए। 

यस विषयमा रास्वपा सभापति लामिछानेले भेट्न बोलाएपछि आफू नक्खु कारागार पुगेको उनको भनाई छ। 

‘कांग्रेस एमालेको सरकारले रविजीप्रति ज्यादती गरेको छ,’ सिंहले भने, ‘यसो भनेर रविजीलाई मैले क्लिन चिट दिन खोजेको होइन। तर, एकै प्रकृतिका मुद्दा १० जिल्लामा दर्ता गर्नु भनेको दुःख दिने नियत नै हो। रविजीसँग मेरो यस विषयमा पनि कुरा भयो।’

कतिपयले आफूलाई रास्वपामा प्रवेश गर्न लागेको भनेर पनि प्रचार गरेका भन्दै उनले त्यसमा सत्यता नभएको बताए। 

‘परिवर्तनका पक्षधर नयाँ शत्तिहरूको एउटै मोर्चा निर्माण गर्ने विषयमा छलफल चलिरहेको छ। तर मैले पार्टी नै प्रवेश गर्ने भन्ने होइन। नयाँ फोर्स उदाउनु पर्छ भनेर मैले छलफल गरेको हुँ,’ उनले भने। 

ऊर्जामन्त्री घिसिङले नयाँ पार्टी बनाए पनि चुनावमा नयाँ शक्तिहरूबीच मोर्चा निर्माणमा बाधा नहुने सिंहले बताए। ‘चुनावमा प्रत्यक्ष निर्वाचनतर्फ एकअर्कालाई सहयोग गर्नेगरि उम्मेदवार उठाउन सकिन्छ। सिट ‘सेयरिङ’ गरौँ भन्ने मेरो प्रस्ताव छ। यसमा कुलमान जी सकारात्मक हुनुहुन्छ।’

आफूलाई कुलमानले एउटै पार्टी बनाएर जाऔँ भन्ने प्रस्ताव पनि गरेको उनले बताए। 

‘कुलमानजीको प्रस्तावमा छलफल गर्न अझै पनि टाइम छ। मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिन्छ,’ सिंहले भने, ‘कुलमान जीको पार्टी दर्ता भए पनि केही बिग्रँदैन। कुरा मिल्यो भने एउटै चुनाव चिह्न बनाएर पनि जान सकिन्छ। कुलमान जीले पनि चुनावको क्लियर सम्भावन भएपछि सरकार छाड्नु हुन्छ।’

शेरबहादुर देउवा, केपी, ओली, प्रचण्ड, महन्थ ठाकुर कसैले पनि नेतृत्व छाड्न तयार नभएकाले मुलुकमा नयाँ फोर्सको आवश्यकता बढेको सिंह बताउँछन्। 

‘यदि आगामी चुनावमा पनि हामी छरिएर गयौँ भने फेरि तिनै नेता संसद्‍मा आउँछन्,’उनले भने, ‘कुलमान, रवी, बालेन सबैलाई मिलाएर एउटा मोर्चा बनाएर फोर्स एकत्रित गरियाे भने त्याे सम्भावना रहँदैन। तर, नयाँ फोर्सले गणतन्त्र र प्रजातान्त्रिक मूल्य मान्यतामा कुनै सम्झौता गर्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad