राजनीति


सुमनराज अर्याल : तथ्यांक अधिकृतदेखि निजामतीको सर्वोच्च कमान्डरसम्म

सुमनराज अर्याल : तथ्यांक अधिकृतदेखि निजामतीको सर्वोच्च कमान्डरसम्म

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १६:१, काठमाडौँ

नेपाल सरकारको मुख्यसचिवमा रक्षा सचिव सुमनराज अर्याल नियुक्त भएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागु हुनेगरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। 

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार रातिबाट अनिवार्य अवकास हुने भएका छन्। एकनारायणले करिव १५ महिना मुख्यसचिवको रुपमा काम गरे। 

एकनारायणसँगै पहिलो नम्बरमा रहेका सचिव गोकर्णमणी दुवाडी पनि अवकास हुनेछन्। दुवाडी सचिवको ५ वर्षे पदावधिका कारण मंगलबार रातिदेखि नै अनिवार्य अवकास हुने भएपछि पहिलो वरीयतामा रहेका सुमनराज अर्याल मुख्यसचिव बन्ने बाटो सहज भएको थियो। 

२०५३ साल वैशाख १९ गते तथ्यांक अधिकृतबाट सेवा प्रवेश गरेका अर्याल साढे २९ वर्षपछि निजामती सेवाको सर्वोच्च पदमा पुग्न सफल भएका हुन्। २०६६ साल वैसाखमा उपसचिवमा बढुवा भएका अर्याल २०६८ माघमा सहसचिव भएका थिए। 

२०७७ माघ १९ गते सचिवमा बढुवा भएका अर्याल पाँच वर्ष पूरा हुनु दुई महिना पहिले निजामतीको सर्वोच्च पदमा पुग्न सफल भएका हुन्। माघ १९ गतेसम्म पनि मुख्य सचिव नबनेको भए सचिवको पाँच वर्षे पदावधिका कारण अनिवार्य अवकासमा जाने थिए।  

निजामतीमा प्रवेश गरेपछि तथ्यांक विभागमा काम गरेका अर्यालले महालेखा नियन्त्रक हुँदै विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ। 

कोसी प्रदेशको प्रमुख सचिव, सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री कार्यालयको सचिव, राष्ट्रिय योजना आयोगको सचिव हुँदै रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी अर्यालले सम्हालेका छन्। 

काठमाडौँको जोरपाटी घर भएका अर्यालले एमएस्सी गरेका छन्। मुख्य सचिवमा नियुक्त भएका अर्यालको कार्यअवधि करिब साढे सात महिना मात्रै रहनेछ। 

अर्याल २०८३ असार २६ गतेसम्म सेवामा रहनेछन्। त्यसपछि उनी पनि मुख्यसचिवको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन्।

मुख्य सचिवको प्रतिस्पर्धामा अरु सचिवहरु पनि थिए। तर उनीहरुभन्दा अर्याल ५ महिना महिना सिनियर हुन्। 

अर्याल पछि दोस्रो नम्बरमा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, तेस्रोमा नम्बरमा राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी र चौथोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर थिए। 

पाँचौँ नम्बरमा प्रधानमन्त्री कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल र छैठौँ नम्बरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे छन्। उनीहरु ६ जना भने २०७८ असार १७ गतेदेखि साउन ४ गतेको बिचमा सचिवमा बढुवा थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad