ब्लग


विश्वभर कम्युनिस्टहरू किन धोकेबाज बन्दैछन्?

विश्वभर कम्युनिस्टहरू किन धोकेबाज बन्दैछन्?

आरके तामाङ
मंसिर ८, २०८२ सोमबार १६:८, काठमाडौँ

२० औँ शताब्दीको अन्तिम कम्युनिस्ट क्रान्ति नेपालमा भयो र अन्यत्र जस्तै नेपाली कम्युनिस्ट क्रान्तिले त्यही विश्वासघातको तितो सत्य दोहोर्‍यायो, जुन आज अझ ठूलो र तीव्र स्वरमा घन्किरहेको छ। विसं २०५८ साल मंसिर ८ गते (आजकै दिन) तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाले दाङ, स्याङ्जालगायतका सैन्य ब्यारेकमा आक्रमण गरेको थियो। 

राजसंस्थाको उन्मूलन, संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै आजसम्म आइपुग्दा कुनै समयका क्रान्तिकारी कम्युनिस्ट शक्तिहरू कसरी धोकेबाज भए? विश्वका वामपन्थी तथा कम्युनिस्ट क्रान्तिहरूले गरेको उत्पीडित र शोषितहरूको मुक्तिको वाचा आज किन झुटो आश्वासन बन्दैछ? हिजो साम्यवाद ल्याउनको लागि ज्यानको आहुती दिन तयार भएर लडाइँमा होमिएका मजदुर, किसान, गरिब, उपेक्षित समुदाय, युवाहरू आज किन धोकाको महसुस गरिरहेका छन्? हिजोका मुक्तिदाताहरू आज कसरी नयाँ बुर्जुवा बन्दैछन् भन्ने कुराको नेपाली अनुभव यहाँ समेटिने छ।

विदेशी अनुभव
हिजोका कम्युनिस्ट क्रान्तिकारीहरू आज एक विरोधाभासीको रूपमा देखा परिरहेको सानै उमेरमा माओवादी योद्धा भएका मार्क्सवादी सिद्धान्तकार तथा बोलिभियाका पूर्वउपराष्ट्रपति आल्भारो गर्सिया लिनेरा दाबी गर्छन्।

‘हिजोका ती बागीहरू, जसले आफ्नो विद्रोही भाषणको जोसले गरिब किसानहरूलाई मोहित बनाएका थिए, आज त्यही किसानहरूको दुःख–कष्टका ढाडमा चढेर झिलिमिली निजी कम्पनी र एनजीओहरूका मालिक बनेका छन्,’ उनी लेख्छन्, ‘रूस, चीन, पोल्यान्ड, एल–साल्भाडोर, निकारागुवाका कम्युनिस्ट र समाजवादी पार्टीहरू, सशस्त्र वा निसशस्त्र अग्रदस्ताहरू, आज आत्माविहीन भइसकेका छन्। अब उनीहरूले कुनै सामाजिक मुक्तिको चाहना प्रतिनिधित्व गर्दैनन्, न त न्यायपूर्ण असन्तोषप्रति कुनै प्रतिबद्धता। बरु, उनीहरू एक विशाल ऐतिहासिक धोखाको प्रतीक बनेका छन्।’

कुनै समय मार्क्सवादको उर्वर भूमि दक्षिण अमेरिकाको यो अनुभव विश्वका अन्य ठाउँमा पनि उस्तै देखिन्छ। हिजोका विद्रोहीहरू नै आजका प्रशासक, मन्त्री, धनी व्यापारी वा नयाँ अभिजात वर्ग बन्न पुगेका छन्। जबकि क्रान्तिका लागि आफ्नो जीवन अर्पण गर्ने आम जनमानस फेरि किनारामा धकेलिएको छ। हिजोका मुक्तिदाताहरू आज उत्पीडित र शोषित जनताहरूको ढाडमा चढेर आत्माविहीन जीवन बाँचिरहेका छन्। यो नेपालकै ००७ सालका कांग्रेसी क्रान्तिकारीदेखि कम्युनिस्ट आन्दोलनले पनि पुष्टि गर्छ।

जनयुद्धको प्रतिज्ञा
विसं २०५२ सालमा जब नेपालको माओवादीले जनयुद्ध उद्घोष गर्‍यो, यसले लाखौँ नेपालीहरूको हृदयमा नयाँ आशा जगायो। विसं २०४६ सालको जनआन्दोलन भएको केही वर्षभित्रै इतिहासले उपेक्षित बनाइएका जाति–वर्गहरूः गरिब गाउँलेहरू, दलितहरू, आदिवासी जनजाति राष्ट्रहरू, महिलाहरू, भूमिहीन किसानहरू र भविष्यको खोजीमा हिँडेका युवाहरूलाई गरिएको आव्हानलाई आत्मसात गर्दै व्यापक रूपमा सहभागी भए। 

विसं २०५८ मंसिरदेखि तत्कालीन शाही सेनासँगै भिडेको माओवादीले जनयुद्धलाई नयाँ उत्कर्षमा लैजाने काम भयो। सो युद्धमा १७ हजारभन्दा धेरै मारिए। हजारौँ घाइते भए, कयौँ बेपत्ता भए। जसको परिणाम पुरानो राज्य संरचना भत्किएर नयाँ गणतान्त्रिक नेपालको ढोका खुल्यो। केही वर्षका लागि साँच्चै नयाँ बिहान छिर्दैछ भन्ने अनुभूति भयो। 

सत्तासँगै जनताबाट टाढिए 
तर, २०६२ को शान्ति सम्झौतापछि, संसारका धेरै क्रान्तिहरूमा देखिएको कुरा हामीले पनि देख्यौँ। माओवादी नेतृत्व सिंहदरवार प्रवेश गर्‍यो, सांसद्, मन्त्री, प्रधानमन्त्री भएसँगै क्रान्तिकारी भाषा मन्द हुँदै गयो, र क्रान्तिको विशाल सपना क्रमशः साना–साना सम्झौतामा सीमित हुँदै गयो। उता, हजारौँ जनमुक्ति सेनाका लडाकुहरू, क्रान्तिका मेरुदण्डहरू कोही सेनामा समायोजित भए, धेरैजसोले थोरै क्षतिपूर्ति लिएर घर फर्कनुपर्‍यो। हिजोका धेरै क्रान्तिकारीहरूले आफूहरूलाई नेतृत्वहरूले बिर्सिएको, धोका दिएको, त्यागिएको महसुस गर्दै अधुरो सपना सहित घर फर्किए, नेतृत्वहरू सिंहदरबार र बालुवाटार धाउन थाले।  

यो केवब नेपाली अनुभव मात्र होइन, विश्वव्यापी कम्युनिस्ट क्रान्तिको शृंखला हो। लिनेराका अनुसार धेरै पूर्वविद्रोहीहरू राज्यका व्यवस्थापक, एनजीओ निर्देशक वा हिजो ध्वस्त पार्ने वाचा गरेका प्रणालीका अभिन्न अंग बने। यसरी कम्युनिस्टहरू बाहिरबाट मात्रै होइन, भित्रैबाट पनि असफल हुने चक्रमा फसे। 

यो विडम्बना किन बारम्बार दोहोरिन्छ?
कम्युनिस्ट क्रान्तिकारीहरूले विद्रोहको दौरान समाजका असन्तुष्ट पक्षहरूलाई आफूमा समाहित गरेर शक्तिमा रूपान्तरण गर्न सफल भए पनि सत्तामा पुगेसँगै उनीहरूले पश्चिमा बृहत् आधुनिक परियोजनाले निर्दिष्ट गरेको एकल रेखीय सभ्यतात्मक विकासलाई अगाडि बढाउँदछन्। जसले उनीहरूलाई गैरपश्चिमा समाजको जराबाट अलग गर्दछ। यसरी जरा टुटेका आत्माविहीन अग्रदस्ताहरूले हिजोको शक्तिको स्रोतहरूलाई अग्रगमनको बाधक मान्दछ। 

यसका साथै विश्वका क्रान्तिकारी भौतिकवादी अग्रदस्तमा आधारित कम्युनिस्ट पार्टीहरूले केन्द्रीकरणको नाममा सीमित नेतृत्वलाई असीमित शक्तिशाली बनाउन काम गर्दछन्। युद्धको दौरान कडा अनुशासन, गोप्य तरिकाले काम गर्ने, आदेश पालनको संस्कार बसाउँछ। र बन्दुक छाडेपछि पनि सोही बानी मार्फत काम जारी राख्दा स्वेच्छाचारिता बढ्छ। 

हिजोका विद्रोहीहरू सत्तामा पुगेसँगै आर्थिक, राजनीतिक र व्यक्तिगत प्रलोभनहरूमा फस्दा हिजोका महान् भनिएका प्रचण्ड र बाबुरामजस्ता नेता जनताबाट टाढिन्छन्। जनसहभागिता तथा जवाफदेहिताका संरचना कमजोर हुँदा नेतृत्व स्थायी अभिजात वर्गमा परिणत हुन्छ। यसले हिजोका विद्रोहीहरूलाई नवबुर्जुवाको रूपमा स्थापित गर्दछ। 

नेपालका लागि पाठ
यसरी विश्वभरि जस्तै नेपाली कम्युनिस्ट विद्रोहले पनि आज एक ऐतिहासिक धोकाको प्रतिनिधित्व गर्दछ र क्रान्तिको नेतृत्व प्रतिबद्धता भुलेर व्यक्तिगत विरासत जोगाउन लाग्छन्। यसले तीन वटा पाठ सिकाउँदछ।

पहिलो, नेपालको क्रान्ति जनताले हार मानेर असफल भएको होइन, क्रान्तिका आफ्नै संरचनाहरूले असफल बनाएको हो। नेतृत्वले जनतासँग दूरी बढायो, जनताले होइन। दोस्रो, यदि जनयुद्धको बलिदानलाई सम्मान गर्ने हो भने असीमित शक्ति केही सीमितहरूको हातमा केन्द्रित हुन नदिने नयाँ राजनीतिक संरचना बनाउनु पर्छ। तेस्रो, विद्रोहको दौरानका प्रतिबद्धताहरू, जनताको वास्तविक संघर्ष, जनजीविकाका सवालहरूसँग नजोडिएसम्म संविधान वा सरकार फेरिए पनि क्रान्ति टिक्दैन।

नेपालको माओवादी क्रान्ति आज एकादेशको कथा हुनुको पछाडि संघर्ष कसका लागि हो, संघर्षका दौरान कस्तो प्रतिबद्धता गरेका थिए र हिजो प्राण आहुति दिएर लडेकाहरू के गर्दै छन् भन्ने कुरा हेर्नुपर्छ। यो जरा टुट्दाको परिणाम हो। आज पनि नयाँ नेपाल आउने विश्वासमा सबैकुरा अर्पण गरेकाहरू हजारौँ पूर्व–लडाकुहरू, सहिद परिवारहरू, बेपत्ता परिवारहरू र शुभचिन्तकहरू कुना कन्दरा, पहाड, गाउँ–गाउँमा छन्। उनीहरूको सपना, योगदान र त्यागलाई नेताहरूले व्यक्तिगत उन्नतिको भर्‍याङ बनाए। कम्युनिस्टहरूको यो विश्वव्यापी रोग नेपाली नेताहरूले सुधारेमा जनयुद्धको बलिदान व्यर्थ जाने छैन।

(आरके तामाङ राष्ट्रिय सीमान्तीकरण विरुद्ध अभियान (समान–नेपाल)का प्रवक्ता हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad