लामो समयदेखि विवाद र विभाजनमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अब एकीकृत हुने भएको छ।
१० औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो। हाल दुवै संघका अध्यक्ष संघलाई एकतावद्ध गर्न तयार भएका छन्। डा केसी नेतृत्वका संघका उपमहासचिव तथा वार्ता समिति सदस्य सोम सापकोटाले करिव चार वर्षदेखि चल्दै आएको आन्तरिक विवाद अन्त्य गरी संघले आइतबार वृहत एकता घोषणा गर्न लागेको जानकारी दिए।
सापकोटाकाअनुसार आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा वृहत एकता घोषणा कार्यक्रम हुनेछ।
उनले गैरआवसीय नेपालीहरूकोको दबाब र इच्छाअनुसार नै एकता गरिएको जानकारी दिए। उनले १० औँ महाधिवेशनमा पञ्जीकृत सदस्य र प्रतिनिधि निर्धारणसम्बन्धि विधानको पालना गर्न नसक्दा विवाद उत्पन्न भएको जानकारी दिए।
विधानअनुसार हरेक १० पञ्जीकृत सदस्यमा १ प्रतिनिधि तोकिने व्यवस्था रहेपनि केही देशमा उक्त प्रक्रिया अवहेलना गरिएको उनको भनाइ छ।
‘१० औँ महाधिवेशनमा हामीमा केही नेतृत्व चयन गर्ने क्रममा पञ्जिकृत सदस्यहरुको विवादले हामी महाधिवेशन सफल रुपले सम्पन्न गर्न सकेनौँ। त्यसपछि केही विवादहरु संगठनभित्र आइपुगे। त्यो विवादले ११ औँ महाधिवशेन र १२ औैँ महाधिवेशन गरिसक्नेबेलासम्म पनि हामी कही न कहीँ चुक्यौँ। हामी विभाजन भयौँ, फरक-फरक तरिकाले हाम्रा क्रियाकलापहरु गर्दै गयौँ। यद्यपि हामीलाई यो संगठन यसरी टुटेर होइन जुटाउन पर्छ हामी जुट्नुपर्छ, हामी बीचमा केही कमीकमजोरी छन्, यसलाई सच्याएर जानुपर्छ भन्ने कुरामा सबै साथीहरुमा त्यो भावना थियो,' उनले भने, 'हामीले यो प्रयास धेरै कोणबाट गर्यौँ। यो समयसम्म आईपुग्न सबै जना जुन विभिन्न पदिय जिम्मेवारीमा रहनुभएका पूर्व अध्यक्षहरु र सबै एनआरएनए साथीहरुको प्रेसर, सबैको एकताहुनुपर्छ भन्ने भावना थियो, त्यो नै महत्वपूर्ण विषय रह्यो। जसले हामीलाई यो ठाउँमा आउन प्रेरित गर्यो, प्रेसर गर्यो। अब हामी ४ वर्षदेखी विवाद थियो त्यसलाई अन्त्य गरेर वृहत एकता गर्ने तयारीमा छौँ।’
उनले राजनितिक प्रभाव, व्यक्तिगत ईगो र केही त्रुटिहरु सम्बोधन गर्न नसकेर अरुलाई दोष दिन थाल्दा संघमा विभाजन भएको उल्लेख गर्नुहुँदै विभाजले कसैलाई पनि फाइदा नपुगेको बताए।
संगठनमा भएको विभाजनले संगठनका साथै देशलाई पनि ठूलो घाटा लागेको उनको भनाइ छ। छोटो समयमा संघले गैरआवासीय नेपाली र राज्यले गरेको विश्वासलाई चुक्न नदिन फेरि एक हुने वातावरण निर्माण गरेको उनले बताए।
‘यो चार वर्षमा हामीले जे गुमायौँ। त्यो गुमाउने चीजले, जुन हामीले भोग्यौँ। हाम्रा कमीकमजोरीले यो व्यक्तिगत जीवनमा मात्रै होइन। संगठन र देशलाई पनि त्यसले घाटा पुर्यायो। त्यो चीजले फेरि हामीलाई नजिक ल्यायो। हामीले गभ्मीरताका साथ लियौँ, सोच्यौँ। यो संगठन यत्रो छोटो समयमा हामीले विश्वास जित्यौँ,' उनले थपे, 'राज्यले हामीलाई विश्वास गर्यो। प्रवासमा रहेका नेपालीहरुले यसलाई विश्वास गरे, यसमा हामीले जे गर्न सक्नुपर्थ्यो, कही हामी चुक्यौँ। अब यो चुक्न हुँदैन भन्ने कुराले हामीलाई एकठाउँमा ल्यायो। हामी संयम भयौँ । हामी जोडियौँ, अब मलाई के लाग्छ भने यो गल्ती अब दोहोरिदैन, दोहोर्याउन हुँदैन।'
उनले सबैको सहभागिता र अस्तित्व हुनेगरी एकता गर्न लागिएको बताए। उनका अनुसार १० औँ र ११ औँ महाधिवेशनमा निर्वाचित भएका दुवैतिरका समितिलाई मान्यता दिने, १२ औँ महाविधेशन गर्नको लागि अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दा मामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागि समय थप गर्ने लगायतका सहमति भएको छ। साथै गैरआवसीय नेपाली संघको सदस्यतासम्बन्धी एमआईएस सिस्टमलाई परिमार्जित गर्दै लाने कुरामा पनि सहमति भएको उनले जानकारी दिए।
संघको अन्तराष्ट्रिय सम्वन्वयन परिषद्मा देखिएको विभाजनपछि केही केही देशमा एनसीसी (राष्ट्रिय समन्वय परिषद्) हरू पनि विभाजित बनेका छन्। दुई वटा एनसीसी रहेका देशमा एकता प्रक्रियाका लागी समय दिईने दिइने सापकोटाले बताए। उनले संघमा सदस्यता लिनको लागि पनि समय थप गरिने जानकारी दिए। उनले फुटेका तथा हालको विभाजनमा रहको सदस्यहरूलाई संघको एमआईएस प्रणालीमा जोडिन आग्रह गरे।
१२औँ महाधिवेशनले एनआरएनएको साख पुनः स्थापित गर्ने उनको विश्वास छ। न्युज एजेन्सी नेपाल
Shares

प्रतिक्रिया