राजनीति


रास्वपा र विवेकशीलबीच एकताः उज्ज्वल थापाको ‘विवेकशील अभियान’लाई मान्यता

रास्वपा र विवेकशीलबीच एकताः उज्ज्वल थापाको ‘विवेकशील अभियान’लाई मान्यता

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १७:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकीकरण भएको छ।

आइतबार दिउँसो काठमाडौंमा एक समारोहबीच दुई पार्टीबीच एकीकरण भएको हो। रास्वपाको तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपाध्यक्ष डा स्वर्णिम वाग्ले र विवेकशील साझाको तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियारले एकीकरण सहमति पत्रमा हस्ताक्षर गरे।

सहमति पत्रमा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिवद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै छोटो समयमै उल्लेखनीय संसदीय हैसियत बनाइ सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्ने सहमति भएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व उज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने सहमति पत्रमा उल्लेख गरिएको छ। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्मका लागि बनाइएको विशेष संयन्त्र संघीय नेतृत्व मञ्चमा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने, मञ्चका सदस्यहरुको वरियता केन्द्रीय समितिको सदस्य सरह हुने, विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरूलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरि जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने सहमति गरिएको छ।

एकीकरण पश्चात दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति र दलको चिन्ह ‘घण्टी’ रहने सहमति जुटेको छ। 

एकीकरण सम्बन्धी निर्वाचन आयोग सम्बद्ध कानुनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्तावेजहरू तयार गर्दै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलवद्ध भइ लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने सहमति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad