भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका हामी नेपाली संस्थाका संयोजक सुदन गुरुङले आफ्नो राष्ट्रियतालाई लिएर प्रश्न उठेपछि आफ्नो नागरिकता छानबिनको माग गरेका छन्।
गृह जिल्ला गोरखाको हिमाली क्षेत्र चुमनुब्री गाउँपालिका-३ को वडा कार्यालयमा आइतबार उनले निवेदन दिएका हुन्।
'म त महेश बस्नेतको निधारमा मेरो नागरिकता लगेर टालम भनेर गाउँ गएको हुँ,' उनले नेपालखबरसँग भने, 'उसले (बस्नेत) उजुरी हालेन त्यहि भएर उसलाई दुःख किन दिइराख्नु भनेर आफैल निवेदन हालिदिएको।'
केही समयअघि नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले गुरुङको राष्ट्रियतामाथि प्रश्न उठाउँदै नागरिक छानबिन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।
'उनीहरूले उजुरी हाल्नु पर्यो, छानबिन गर्नु पर्यो भनिरहका थिए। विचरा आफ्नो साथी-भाइलाई किन दुःख दिनु भनेर आफैँ गएर उजुरी हालेँ,' उनले थपे,'उनीहरूलाई त्यहाँसम्म पुग्न दुःख किन दिनु भनेर आफै दुःख गरेर त्याहाँ सम्म गएर आफैले उजुरी हालेर, छानबिन गर्न माग गरेको छु।'
उनको निवेदन बुझेका वडा अध्यक्ष रामकुमार गुरुङले पनि आफ्नो नागरिकता नेपाली हो/हैन भनेर प्रमाणित गर्न माग गर्दै निवेदन आएको जानकारी दिए।
'उहाँ(सुदन)ले आफ्नो राष्ट्रियतालाई लिएर प्रश्न उठेको यसबारे प्रमाणीकरण गर्न माग गर्दै निवेदन परेको छ,' गुरुङले नेपालखबरसँग भने, 'त्यसलाई हामीले प्रक्रियाअनुसार गर्दैछौँ।'
जिल्ला प्रशासन कार्यालय गोरखाले पनि उनी गोरखाको चुमनुब्री गाउँपालिकाको स्थानीय रहेको जनाएको छ। प्रशासनले उनले नागरिकताको तेस्रो प्रतिलिपी लिइसकेको पनि जनाएको छ।
Shares

प्रतिक्रिया