नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेता व्यवस्थापनका लागि ३ महिनामै पार्टीको विधान उल्ट्याउने प्रस्ताव गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल झोकिएका छन्।
यद्यपि ओलीले बन्दसत्र सुरु हुनुअघि आज बिहान भृकुटीमण्डपमा बसेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकबाट दसौँ महाधिवेशनकै व्यवस्थाअनुरूप पदाधिकारी थप्दै केन्द्रीय कमिटीको सदस्य संख्या बढाउने गरी विधान संशोधन गर्ने निर्णय गराइसकेका छन्।
त्यसअघि वरिष्ठ उपाध्यक्ष पोखरेललगायत उनी पक्षका नेताले विधान संशोधनको कडा विरोध गरेका थिए।
त्यस क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल अध्यक्ष ओलीप्रति आक्रोशित भएका हुन्।
उनले गत भदौमा भएको विधान महाधिवेशनमा ओलीकै आग्रहअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्य संख्या घटाएको स्मरण गराउँदै अहिले फेरि विधान संशोधन गर्ने हो भने २ कार्यकालको कुरा पनि ब्युँताउन माग गरेका थिए।
‘के हाम्रो विधान अस्थायी हो? जे अनुकूल हुन्छ, त्यही गर्दै जाने हो? हिजो विधान महाधिवेशनअगाडि संख्या घटाऊँ भन्ने तपाईंहरू नै होइन? वैधानिक विषयअनुसार चलौँ, महासचिवले प्रस्तुत गरेको कार्यसूचीअनुसार चलौँ। दाँयाबायाँ नगरौँ’, पोखरेलले बैठकमा भने, ‘२ कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने? अरू बाहेक हुने? यस्तो तर्कले हामीलाई कता पुर्याउँछ?’
केन्द्रीय कमिटीले विधान संशोधन गर्ने निर्णय गरेसँगै अब एमालेमा दसौँ महाधिवेशनकै जस्तो १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने भएको छ। जसअनुसार एमालेमा अध्यक्षसहित उपाध्यक्ष ५, महासचिव, उपमहासचिव ३ र सचिव ९ जना रहने भएका छन्। यस्तै पोलिटब्युरो कमिटी ९९ सदस्यीय हुनेछ भने स्थायी कमिटीमा यसको एकतिहाइ सदस्य रहनेछन्।
यसअघि गत भदौमा मात्र भएको विधान महाधिवेशनले १५ पदाधिकारी मात्र कायम गर्दै केन्द्रीय कमिटी २५१ सदस्यीयमा झारेको थियो भने स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो।
Shares

प्रतिक्रिया