राजनीति


एमाले महाधिवेशन: केन्द्रीय सदस्यमा कान्छी उम्मेदवार एलिसाकाे चर्चा

एमाले महाधिवेशन: केन्द्रीय सदस्यमा कान्छी उम्मेदवार एलिसाकाे चर्चा

नेपालखबर
मंसिर २९, २०८२ सोमबार २१:३४, विराटनगर

झापा अर्जुनधारा नगरपालिका–६ की एलिसा गौतम नेकपा एमालेकाे एघारौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा कान्छी उम्मेदवारकाे दाबी गरेकी छिन्। हालसम्म सार्वजनिक सूचीमा आफू नै सबैभन्दा कान्छी (२९ वर्षीया) उम्मेदवार भएको दाबी गर्दै उनले युवाको प्रतिनिधित्व आवश्यक रहेको बताएकी छन्।

इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरिसकेकी गौतम हाल काठमाडौंमा बसेर आफ्नै इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गर्दै आएकी छन्। अध्ययनपछि रोजगारी खोज्नुभन्दा उद्यमशील बन्ने बाटो रोजेको उनको भनाइ छ।

झापामा जन्मिएर हुर्किएकी गौतमले स्थानीय तहदेखि नै विकास र सुशासनमा युवाको सक्रिय भूमिका हुनुपर्ने आवाज उठाउँदै आएकी थिइन्।   

`युवाले अब निर्णय तहमा पुग्नुपर्छ भन्ने सोचका साथ म उम्मेद्वार बनेकी हुँ,´ उनले नेपालखबरसँग भनिन्।

एमालेको जारी ११औँ महाधिवेशनमा पुराना र अनुभवी नेताहरूको बाक्लो उपस्थितिबीच  इन्जिनियर गौतमको केन्द्रीय सदस्य उम्मेदवारीले धेरकाे ध्यान तानेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट ‘महिला खुला क्लस्टर’ अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी गौतम उम्मेदवार मध्ये सबैभन्दा कान्छी नेतृ भएको दाबी गरिएको छ। झापा स्थायी घर भएकी उनी पेशाले आर्किटेक्ट इन्जिनियर तथा अर्बन प्लानर हुन्।

एलिसाको राजनीतिक यात्रा क्याम्पस राजनीतिबाट सुरु भएको हो। काठमाडौँ इन्जिनियरिङ कलेजमा अध्ययनरत रहँदा उनी क्याम्पस कमिटी सदस्य र कोषाध्यक्ष हुँदै २०७३ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। विद्यार्थीमाझ लोकप्रिय रहेकी उनले विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आफूलाई नेतृत्वको तहमा स्थापित गरिन्।

अनेरास्ववियुमा केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्यको जिम्मेवारी सम्हालेकी गौतम अखिलको २३औँ महाधिवेशनमा उनले केन्द्रीय सचिव पदमा समेत उम्मेदवारी दिएकी थिइन्।

विद्यार्थी राजनीतिसँगै उनी पेशागत संगठनमा पनि उत्तिकै सक्रिय छिन्। ‘प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल’ अन्तर्गत झापा जिल्ला कमिटी सदस्यबाट पेशागत यात्रा सुरु गरेकी गौतम केन्द्रीय कमिटी सदस्य हुँदै हाल सचिवालय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीमा छिन्।

शैक्षिक रूपमा पनि उत्कृष्ट मानिने गौतमले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट अर्बन प्लानिङमा स्नातकोत्तर गरेकी छन्। सहरी विकास र योजनामा विज्ञता हासिल गरेकी उनले पार्टीको नीति निर्माण तहमा प्राविधिक, समावेशी र युवामैत्री दृष्टिकोण स्थापित गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad