राजनीति


प्रकाशशरण महतले गगन थापालाई भने- जिम्मेवार भएर बोल्नू

प्रकाशशरण महतले गगन थापालाई भने- जिम्मेवार भएर बोल्नू

नेपालखबर
पुस १०, २०८२ बिहिबार १७:११, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापालाई जिम्मेवार भएर बोल्न आग्रह गरेका छन्। 

बिहीबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबारे सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा प्रवक्ता महतले सबैले जिम्मेवार हुनुपर्ने बताएका हुन्। महामन्त्री थापाले बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति शेरबहादुर देउवाले नाम मात्रैको कार्यवाहक सभापति दिएको आरोप लगाएका थिए। 

त्यसबारे सोधिएको प्रश्नको उत्तरमा प्रवक्ता महतले भने, ‘उहाँ (गगन थापा) त पार्टीको महामन्त्री। उहाँबाट देशभरका नेता कार्यकर्ताले जिम्मेवारीको अपेक्षा गर्छन्। त्यसैले यी विषयलाई हामी कसैले पनि अतिरञ्जित तरिकाबाट सार्वजनिक गर्नुहुँदैन।’

महाधिवेशनलाई लिएर सभापति देउवालाई दोष दिएर पन्छिन नहुने महतको भनाइ थियो। ‘अहिले कसैलाई दोष दिने कुरा छैन। सभापतिले कार्यवाहक दिएर सम्पूर्ण जिम्मेवारी दिनु भएको छ। उहाँ (पूर्णबहादुर खड्का)ले मिटिङ सञ्चालन गरिराख्नु भएको छ।’

त्यस्तै, जिल्ला तथा क्षेत्रका कांग्रेस नेता तथा कार्यकर्तालाई दोषारोपण नगर्न पनि महतले आग्रह गरे। जिल्लाबाट तदारुकताका साथ काम भइरहेको बताउँदै बरु केन्द्रबाटै कमिकमजोरी भएको उनको भनाइ थियो। 

‘एक-अर्कालाई दोषारोपण गर्ने भन्दा पनि आफ्नो जिम्मेवारीको काम गर्नुपर्छ,’ महतले भने, ‘जिल्लाका साथीहरूलाई दोष दिनुहुँदैन। कतिपय यतैबाट कमिकमजोरी भएका छन्।’

क्रियाशील सदस्यता वितरणका लागि केन्द्रबाट पठाइएका फारममा क्रम संख्या उल्लेख नभएको पाइएको थियो। जसले गर्दा क्रियाशील सदस्यता वितरणमा ढिलाइ भएको थियो। केन्द्रबाट महामन्त्रीले नै फारम पठाउने व्यवस्था छ। 

क्रियाशील सदस्यता टुंग्याएर मात्रै निर्वाचनमा जाने प्रवक्ता महतले बताए। ‘क्रियाशील सदस्यता नटुंगिकन निर्वाचनको कार्यक्रम अघि बढ्दैन। त्यसैले निर्वाचनको कार्यतालिका प्रभावित हुने देखिन्छ,’ उनले भने। 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबारदेखि सुरु भएको छ। बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन सम्बन्धी प्रस्ताव गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad