फागुन २१ मा हुने भनिएको चुनावको लागि मात्र ७१ दिन बाँकी हुँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह नयाँ राजनीतिक शक्ति गठनको कसरतमा छन्। बिहीबार उनले विभिन्न पार्टी तथा समूहसँग भेट गरेर सहकार्यको प्रस्ताव राखे।
ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा विभिन्न समूहमा छरिएर बसेका जेनजीहरूसँग पनि उनले छलफल गरे। जेनजीका मुख्य समूह काउन्सिल अफ जेनजी, नेपाल जेनजी फ्रन्ट, जेनजी मुभमेन्ट अलायन्सका प्रतिनिधिसँग पनि उनले एक्लाएक्लै र सामूहिक छलफल गरे। सो क्रममा जेनजी प्रतिनिधिहरूले सोधेका अनेकौँ प्रश्नको जवाफ दिँदै आफ्नो कित्ता स्पष्ट पारेका छन्। यसअघि संघीयता, गणतन्त्रलगायतका विषयमा उनका मत अस्पष्ट थिए।
पुरुषोत्तम यादवले बालेनले आफूहरूलाई एक भएर आउन आग्रह गरेको बताए। उनलाई केही दिनअघि रास्वपाले समानुपातिक उम्मेदवारको सूचीमा राखेको थियो। तर, यादवाले आफूले प्रत्यक्ष चुनाव लड्ने बताए।
‘रास्वपाले मलाई सम्मान गरेर समानुपातिकमा हालिदिएको हो। हामी सबै जना मिलेर एकै ठाउँमा आउछौँ। उहाँहरूले सम्मानपूर्वक मलाई राखिदिनु भएको हो। तर, म चुनाव प्रत्यक्ष नै लड्ने हो,’ उनले भने।
को, कहाँबाट लड्ने भन्ने सबैबीच एकता भइसकेपछि मात्रै पक्का हुने उनको भनाइ छ।

काउन्सिल अफ जेनजी (सुदन गुरुङ समूह) का ६ प्रदेश संयोजक र सुदन गुरुङसँग बालेनले छुट्टै छलफल गरेका थिए। कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङले शाहसँग सोधेका थिए, ‘संघीयतालाई तपाईंले समस्या मान्नु हुन्छ कि उपलब्धी?’
‘उहाँले म उपलब्धी मान्छु भन्नुभयो,’ उपार्जुनले सुनाए।
त्यस्तै ‘हर्क साङ्पाङलाई कसरी लिने’ भनेर सोध्दा ‘साम्पाङ मेरो साथी हुन्, भोलि कुरा हुनसक्छ’ भनेर उनले जवाफ दिएका थिए।
शाहले सबै जेनजी एकठाउँमा उभिनुपर्ने बताए।
जेनजी मुभमेन्ट अलायन्सका रिजन रानामगर पनि बालेनसँगको छलफल तथा भेटघाटमा पुगेका थिए।
‘१५ मिनेटजति कुरा भयो। संघीयता, गणतन्त्र लगायतका विषयमा र जनवर्गीय आन्दोलन र मुद्दाका विषयहरूमा शाहको धारणा के छ भनेर बुझ्न र राजनीतिमा आउने विचार गरेकोमा शुभकामना दिन गएको म,’ उनले भने, ‘तपाईंहरू देश बनाउने भन्नु हुन्छ। देश बनाउँदा जनता छुट्नु भएन भनेँ।’
उनका अनुसार जवाफमा बालेनले भनेका थिए, ‘बहुसंख्यक जनताको हित हुने काम मैले गर्ने हो र हाल जनता जुन मुद्दाबाट पीडित छन्, ती समस्याहरू समाधान गर्न सबैले पहल गर्नुपर्छ त्यसमा मेरो दुई मत छैन।’
बालेनले सबै जेनजीको समर्थन आफूलाई हुनुपर्ने बताएका थिए।
‘म राजनीतिमा आइसकेँ। सबैको साथ, समर्थन चाहिन्छ, हामी सबै सँगै अगाडि बढ्नु पर्छ,’ युजन राजभण्डारीले बालेनको भनाइ उधृत गरे।
जेनजी फ्रन्टकी संयोजक रक्षा बमसँग बालेनले बुधबार नै कुरा गरेका थिए। बमले बालेनका कुरा आफूलाई चित्त बुझेको र उनलाई समर्थन गर्ने बताइसकेकी छन्।
Shares

प्रतिक्रिया