शान्ति स्थापना र संकट व्यवस्थापनका अनुभवी नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेलेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्र हेर्ने जिम्मेवारी सुम्पिएकी हुन्।
शर्माले शुक्रबार नै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिएका छन्। कार्कीले आफू प्रधानमन्त्रीमा नियुक्त भएसँगै शर्मालाई मन्त्रिपरिषद्मा समेट्ने चर्चा थियो। तर चार चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्दा पनि छुटेका शर्मालाई पाँचौँ चरणमा मन्त्री नियुक्त गरेकी हुन्।
फागुन २१ गते निर्वाचन गरेर जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी पाएकी कार्कीले अढाई महिना बाँकी हुँदा ७५ वर्षीय पूर्व जर्नेललाई सरकारमा सामेल गराएकी हुन्।
गत भदौ २३ र २४ गतेपछि देशको शान्ति सुरक्षाको सम्पूर्ण जिम्मेवारि लिएको नेपाली सेनाले सरकार बनाउन पनि भूमिका खेलेको थियो। जतिवेला नेपाली सेनाले सत्ता समेत लिनसक्ने चर्चा चलेको थियो। तर सेनाले भने आफ्नो इच्छा र प्रयास त्यस्तो नभई देशमा शान्ति सुरक्षा कायम गर्नु रहेकाले उचित वातावरण बनाउन मात्रै भूमिका खेलेको प्रतिक्रिया दिएको थियो।
त्यो अवस्थामा पूर्वरथीलाई मन्त्री बनाउँदा सेनाले भाग खोजेको अर्थ लाग्ने भन्दै नेपाली सेनाले सरकार गठन र मन्त्री छनोटमा आफ्नो कुनै भूमिका नदेखिओस् भन्ने चाहना प्रधानमन्त्री र राष्ट्रपति समक्ष राखेको थियो।
सेनाका एक उच्च अधिकारीले भने, ‘त्यतिवेलै उहाँलाई मन्त्री बनाइएको भए सेनाले सरकारसँग भाग खोज्यो भन्ने अर्थ लाग्थ्यो। प्रधानसेनापतिज्यू त्यो दोष बोक्न चाहुनुहुन्नथ्यो। तर अहिलेको समयमा उहाँको अनुभव र क्षमता जुन छ, त्यो हिसाबले टिममा चाहिन्छ भनेरै प्रधानमन्त्रीले लैजानु भएको होला।’
सैनिक स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले केही दिनअघि मात्रै प्रधानसेनापति अशोकराज सिग्देललाई बालुवाटार बोलाएर यस विषयमा छलफल गरेकी थिइन्। सोही छलफलपछि शर्मालाई मन्त्री नियुक्त गर्ने निर्णयमा प्रधानमन्त्री पुगेकी हुन्।
३९ वर्ष नेपाली सेनामा बिताएका शर्माले नेपालमा मुख्यगरी दुई पटक प्रमुख भूमिका पाएका छन्। अवकास भएपछि उनले तत्कालीन माओवादी जनमुक्ती सेनालाई नेपाली सेनामा समायोजन गर्न खेलेको भूमिकाको उच्च प्रशंसा भएको थियो। सेना समायोजन विशेष समिति सचिवालयको संयोजक शर्मा।
यस्तै नेपालमा कोभिड संकटका वेला पनि उनले महत्त्वपूर्ण जिम्मेवारी पाएका थिए। २०७८ जेठमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी अधिकृतमा शर्मालाई नियुक्त गरिएको थियो। त्यतिवेला उनले सचिव सरहको सुविधा पाएका थिए।
शर्मा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) का प्रमुख समेत थिए।
सेनामा रहँदा उनले कमाण्ड, स्टाफ र निर्देशनालयमा काम गरेको अनुभव छ। आर्मी ट्रेनिङ स्कूलमा प्रशिक्षक र आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा कमान्डेन्ट समेत थिए। शर्माले ४ वर्षभन्दा बढी समयसम्म अन्तर्राष्ट्रिय शान्तिको लागि काम गरेका छन्।
गोलान हाइट्समा संयुक्त राष्ट्र संघ अन्तर्गत सेनाको फोर्स कमाण्डरको रूपमा समेत काम गरेको अनुभव उनीसँग छ।
यस्तै उनी संयुक्त राष्ट्र संघका स्रोत व्यक्ति समेत थिए। राष्ट्र संघले बोलाउँदा शान्ति सम्बन्धी गतिविधिमा संलग्न रहँदै आएका थिए। शर्माले द्वन्द्व प्रभावित धेरै देशहरूको भ्रमण गरेका छन्। जहाँ उनले नेपालमा शान्ति स्थापना र सेना समायोजनबारे आफ्नो अनुभव सुनाउँदै ती देशलाई सल्लाह समेत दिएका छन्।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन्। २०२६ सालमा नेपाली सेनामा भर्ना भएका उनले सैनिक सेवामा रहँदा लेबनानमा संयुक्त राष्ट्रसंघीय अन्तरिम बलको सहायक वरिष्ठ सैन्य अधिकारीदेखि सोभियत संघमा रक्षा सहचारीको रूपमा पनि काम गरेका थिए।
यसअघि आफैले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले शुक्रबारदेखि उनै शर्मालाई सुम्पिएकी हुन्। अब प्रधानमन्त्री कार्कीसँग रक्षा मन्त्रालय रहेको छ।
कार्की नेतृत्वको मन्त्रिपरिषद्मा यसअघि नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
Shares

प्रतिक्रिया