राजनीति


कार्यकाल सकिनासाथ उपसभामुखले छाडिन् पद, सभामुखले अझै छाडेनन्

कार्यकाल सकिनासाथ उपसभामुखले छाडिन् पद, सभामुखले अझै छाडेनन्

नेपालखबर
पुस १६, २०८२ बुधबार १२:२६, काठमाडौँ

कार्यकाल सकिए पनि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अझै पदमै बहाल छन्।

संविधान र ऐनमा सभामुख र उपसभामुखको कार्यकाल प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म मात्र रहने व्यवस्था छ।  

तर सभामुख घिमिरे भने अझै पदमै बहाल रहेपछि उनको आलोचना भइरहेको छ।

कार्यकाल सकिँनासाथ उपसभामुख इन्दिरा रानाले भने सरकारी गाडीसहितका सुविधा छाडेकी छन्। तर, कार्यकाल सकिएको चार दिन बितिसक्दासमेत सभामुख घिमिरे भने सरकारी गाडीमा झन्डा हल्लाउँदै हिँडिरहेका छन्।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचनको लागि १३ र १४ पुसमै समानुपातिक उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ। 

मनोनयनको अघिल्लो दिन १२ पुसमै सभामुख र उपसभामुखको पदावधि सकिएको हो।

उपसभामुख रानाले भने १२ पुसमै सरकारी सेवा–सुविधा जिम्मा लगाएकी हुन्। उनी गाडी छाडेर सिंहदरबारबाट ट्याक्सि चढेर बाहिरिएकी थिइन्। 

घिमिरे एमालेबाट सभामुख बनेका हुन्। उनले प्रतिनिधिसभा पुन: स्थापना हुन सक्ने आशासहित पदमै बसिरहने रणनीति अपनाएको संसद् सचिवालयका कर्मचारीहरू बताउँछन् ।

०७९ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका घिमिरे झापा २ बाट निर्वाचित भएका थिए। उससभामुख राना भने रास्वपाबाट समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन्। 

घिमिरे २०७९ माघ ५ गते सभामुखमा निर्वाचित भएका थिए। माघ ७ गते राना उपसभामुखमा निर्वाचित भएकी थिइन्।

संविधानको धारा ९१ (६) ‘क’ मा ‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्’ भनिएको छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन दफा २८ (८) मा ‘दलले उम्मेदवारको बन्दसूची आयोगमा पेस गरेपछि उम्मेदवारको मनोनयन गरेको मानिने छ’ भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad