जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले क्षतिग्रस्त सुदूरपश्चिम प्रदेशसभा भवन झन्डै ४ महिनापछि पुन:निर्माण गरिएको छ।
भवन पुन:निर्माण भएपछि आज दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि आज पहिलोपटक सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्न लागेको हो।

सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीले नेपालखबरसँग भने, ‘एसी र मिडिया सेन्टरमा टीभी जोड्न मात्र बाँकी छ। अरू सबै काम सकाएका छौँ। आज बैठक सुरु गर्दै छौँ।’
उनका अनुसार प्रदेशसभा पुनर्निर्माणमा करिब १ करोड खर्च लाग्यो।
यूएनडीपी र यूएनएफपीएले बैठक हलमा आवश्यक पर्ने माइक, टीभी, क्यामरालगायत उपकरणका लागि ४३ लाख रुपैयाँ सहयोग गरेका छन्।
यस्तै सचिवालयले विषम परिस्थितिअन्तर्गत केन्द्रीय सरकारबाट ३० लाख बजेट पाएको थियो।
जेनजी आन्दोलनअघि भदौ ५ देखि नै सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्न सकेको छैन।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रदेशसभा भवन, प्रशासनिक भवन, विषयगत समिति, संसदीय दलका कार्यालय र सवारीसाधनमा आगजनी र तोडफोड गरेका थिए।
सबै गरेर झन्डै १२ करोडको क्षति भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
Shares

प्रतिक्रिया