राजनीति


देशमा अन्योल छैन, निर्वाचनको वातावरण बनाएकोमा सरकारलाई धन्यवाद भन्न चाहन्छु : प्रचण्ड

देशमा अन्योल छैन, निर्वाचनको वातावरण बनाएकोमा सरकारलाई धन्यवाद भन्न चाहन्छु : प्रचण्ड

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस १६, २०८२ बुधबार १५:४९, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा अन्योलको अवस्था नरहेको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय संवादलाई सम्बोधन गर्दै उनले संकटको समाधान सर्वपक्षीय सहमतिबाटै सम्भव हुने स्पष्ट पारे।

‘अब त देशमा अन्योल छैन भन्ने हामी सबैलाई लागेको छ,’ प्रचण्डले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु। तपाईंहरूलाई निकै अप्ठ्यारो भएको महसुस हामीले गरेका थियौँ, अब निर्वाचनको वातावरण बनाउनु भयो।’

‘हामीले यो संकटको समाधान गर्ने भनेको सर्वपक्षीय सहमति नै हो। चुनावमा गए पनि सहमतिबाटै जानुपर्छ, अन्य विकल्प सोच्दा पनि राष्ट्रिय राजनीतिक सहमतिबाटै अघि बढ्नुपर्छ,’ उनले थपे।

देश निर्वाचनतर्फ अघि बढिसकेको भन्दै प्रचण्डले शान्ति, स्थायित्व र समृद्धिका विषयमा धेरै भाषणभन्दा व्यवहारिक काम आवश्यक रहेको बताए।

आफू प्रधानमन्त्री हुँदा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य गरेको स्मरण गर्दै उनले संविधान निर्माणका बेला निजी क्षेत्र, सहकारी र सामुदायिक क्षेत्रलाई मोडल बनाउने प्रतिबद्धता कार्यान्वयन हुन नसकेको स्वीकारे।

‘स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु र त्यसमार्फत प्राप्त जनादेशका आधारमा संविधान र कानुनका सीमा तथा कमीकमजोरी संशोधन गर्ने प्रतिबद्धता गर्नु नै आजको चुरो कुरा हो,’ प्रचण्डले भने।

संविधान निर्माणका बेला १० वर्षपछि पुनरावलोकन गर्ने सहमति भएको उल्लेख गर्दै प्रचण्डले समय पूरा भइसकेको र जेनजी पुस्ताले समेत यही माग उठाइरहेको बताए।

‘हामीले संविधान बनाउँदा पनि १० वर्षपछि हामीले संविधान पुनरालोकन गर्नुपर्छ भनेका थियौँ,’ प्रचण्डले भने, ‘१० वर्ष पनि पुगेको छ। जेनजीले पनि त्यो कुरा भनेका छन्।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad