पूर्वमन्त्री सुमना श्रेष्ठले नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई शुभकामना दिएकी छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङसमेत रास्वपामा एकताबद्ध भएपछि पार्टीकी पूर्वनेतृ श्रेष्ठले बलियो नयाँ शक्ति बनेको भन्दै बधाई दिएकी हुन्।
बुधबार उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेकी छन्, 'नयाँ रास्वपालाई शुभकामना छ। जनताको चाहना बलियो नयाँ शक्ति थियो, छ र त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद छ। बधाई छ।'
यस क्रममा उनले आफू रास्वपामा आबद्ध हुँदा र बाहिरिँदाका विषयमा पनि स्पष्टीकरण दिएकी छन्।
'म व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न भएको थिएन। रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर हैन', उनलेे भनेकी छन्, 'देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपाली मात्र भएर बाँच्न सक्ने अवसर बनाउनेबाहेक कुनै एजेन्डा छैन मेरो।'
आफूले पार्टीभित्र प्रश्न उठाउँदा चरित्र हत्या गरिएको आरोप लगाउँदै सुमनाले नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्न रास्वपाका नेताहरूलाई सुझाव पनि दिएकी छन्।
'राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल र साइबर बुलिङ गरेर व्यक्तिको चरित्र हत्या गर्न लागेको दिन, दलभित्र लोकतन्त्र बाँकी रहँदैन', उनलेे लेखेकी छन्, 'नयाँ रास्वपामा नयाँ, पुराना साथीहरूले अहिले उठाउनुभएको प्रश्नहरू अहिलेको नेतृत्वले यो कुरामा सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन् भन्ने विश्वास गरौँ। सही प्रश्नले मात्र दललाई सही दिशा दिन सक्छ भन्ने ज्ञात रहोस्।'
यस्तै उनलेे आफूलाई नसोधी अनुमानका भरमा आफ्नो नयाँ राजनीतिक यात्राबारे समाचार र धारणा नबाइदिन पनि आग्रह गरेकी छन्।
'मेरो राजनीतिक यात्राबारे मलाई सोधेरभन्दा अनुमानका भरमा समाचार र धारणा नबनाइदिनुहोला। म नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीका लागि जनता माझ थिएँ र अनवरत छु', श्रेष्ठले भनेकी छन्, 'दल, चिह्न, पद, भूमिका सबै अस्थायी हुन्, जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म हो। मप्रतिको चासो र चिन्ताको लागि धन्यवाद! केही नियोजित गालीबाहेक सबै चासो, चिन्ता र आलोचनामा तपाईँहरूले मप्रति देखाउनुभएको माया भन्ने बुझेकी छु।'
अन्त्यमा उनलेे लेखेकी छन्, 'नयाँ रास्वपामा नयाँ सम्भावनाहरूले फल्ने, फुल्ने वातावारण मिलोस्। शुभकामना। बधाई भन्न पाइयोस्।'
Shares

प्रतिक्रिया