राजनीति


निर्वाचन आचारसंहिता लागू हुँदा पनि स्थानीय विकास निर्माण कार्य नरोकिने

निर्वाचन आचारसंहिता लागू हुँदा पनि स्थानीय विकास निर्माण कार्य नरोकिने

नेपालखबर
पुस १७, २०८२ बिहिबार १७:३३, काठमाडौँ

प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आचारसंहिता लागू हुँदा पनि स्थानीय सरकारका विकास निर्माणका कार्य नरोकिने भएको छ। 

बिहीबार स्थानीय जनप्रतिनिधिका अगुवासँगको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता लागू हुँदा पनि विकास निर्माणका कार्यमा बाधा नपुग्ने बताएका हुन्। निर्वाचन आचारसंहिता जारी भएपछि सरकारी स्रोतको दुरूपयोग गरी मतदातालाई प्रभावित गर्न नदिइने तर नियमित विकास निर्माणका काम नरोकिने भण्डारीले बताए। 

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पूर्णपालना गर्नु गराउनु अतिआवश्यक भएको र यसमा कुनै कमि हुन नदिइने उनको भनाइ थियो। यसका लागि सूक्ष्म अनुगमन गरिने भण्डारीले जानकारी दिए। 

उनले स्थानीय सरकारलाई मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउनका लागि सघाउन आग्रह गरे। कानून निर्माण गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी पाएका स्थानीय सरकारले स्थानीय भाषामा आधारित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेर नागरिकको घरदैलोसम्म पु¥याएर मतदानको प्रतिशत बढाउन र बदर मत घटाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो। 

छलफलमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ, जिल्ला समन्वय समिति महासंघ, नेपालका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो। 

जिल्ला समन्वय समिति महासंघका कार्यकारी निर्देशक भरतकुमार भट्टराई, नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना र कार्यकारी निर्देशक कलानिधी देवकोटा तथा गाउँपालिका राष्ट्रिय माहसंघ नेपालका प्रतिनिधि रूपनायण ढकाल र दीपा शर्माले मतदाता शिक्षामा सघाउने स्थानीय सरकार तयार रहेको बताएका थिए। 

कार्यक्रममा बोल्दै निर्वाचन आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन शिक्षामा जोड दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad