फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको लागि समानुपातिकतर्फका उम्मेदवार तयार पारेपछि दलहरु अब प्रत्यक्षतर्फ केन्द्रित भएका छन्।
निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएपछि उनीहरु प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा केन्द्रित भएका हुन्।
प्रत्यक्षका लागि माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। सोही कारण दलहरूले विभिन्न जिल्लाबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइरहेका छन्।
यस्तोमा अहिले मुख्य दलका शीर्षनेताहरुले कहाँबाट चुनाव लड्छन् भन्ने चासो छ। यीमध्ये नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तिम पटक गृहजिल्ला डडेल्धुराबाट उठ्ने इच्छा जाहेर गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसपटक पनि झापा ५ बाटै उठ्ने तयारीमा छन्।
तर निर्वाचनैपिच्छे फरक फरक क्षेत्र रोज्दै आएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड यसपटक कहाँ जालान् भन्ने चासो छ। १६ वटा घटक मिलेर बनेको नेकपाका संयोजक उनको नाम देशका १६ निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ।
त्यसमध्ये कालिकोट, कास्की क्षेत्र नम्बर ३ बाट उनी एकल सिफारिसमा परेका छन्।
नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१ बाट पनि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनावका लागि प्रचण्डको नाम सिफारिस गरिएको नेताहरू बताउँछन्।
यस्तै, रोल्पा र रुकुमपूर्वले पनि संयोजक प्रचण्डको नाम सिफारिस गरेर पठाएको छ। उता कैलाली–३ ले पनि उनको नाम सिफारिस गरेको छ।
कहाँबाट उठ्छन् त प्रचण्ड?
दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभाको चुनावमा अलग–अलग क्षेत्रबाट चुनाव लडेर जितेका प्रचण्डलाई यसपटक पनि क्षेत्र परिवर्तन गर्न दबाब छ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ १० र रोल्पा २ बाट प्रचण्डले चुनाव जितेका थिए। उनले २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा सिरहा ५ गएर जिते।
संविधान जारी भएपछिको २०७४ मा भएको पहिलो प्रतिनिधिसभाको चुनावमा उनी चितवन ३ मा गएर विजयी भए। तर, पाँच वर्षपछि फेरि उनको निर्वाचन क्षेत्र बदलियो र २०७९ मा गोरखा–२ पुगेर चुनाव जिते।
उनलाई यसपटक सो क्षेत्र परिवर्तन गरेर अन्यत्र लैजाने प्रयास भइरहेको नेताहरू बताउँछन्।
त्यसो हुँदा सिन्धुली र रुकुम पूर्वमध्ये कुनै एकमा उनी उठ्नसक्ने सम्भावना रहेको निकटस्थहरू बताउँछन्।
रुकुमपूर्वमा प्रचण्डसहित महिला, युवा, जेनजी, अवसर नपाएका, पुराना गरी ९ जनाको नाम सिफारिस भएको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता रुकुमपूर्वका सांसद पूर्णबहादुर घर्तीले जति जनाको सिफारिस भए पनि पार्टी संयोजक आउँदा सबैले छोड्ने सहमति गरेको बताए।
‘उहाँ आउनुपर्यो, आधार इलाका हेर्नुप¥यो भन्ने साथीहरूको भनाइ छ’, उनले नेपालखबरसँग भने, ‘उहाँ यहाँबाट उठ्नुभएमा पार्टी थप एकढिक्का हुन्छ।’
पश्चिम रुकुम र रोल्पा विकासमा अगाडि बढ्दा रुकुमपूर्व अझै धेरै पछाडि पर्नुको मुख्य कारण केन्द्रीय नेतृत्व नहुनु भएको निचोडमा नेता, कार्यकर्ता र मतदाता पुगेको घर्तीले सुनाए।
‘अरु नेतालाई जिताएर जिल्लाको विकास हुन सकेन। अहिले गएको सांसद पनि मन्त्री हुन पाउनुभएन’, उनले भने, ‘ पूर्वप्रधानमन्त्री नै आएपछि जिल्लाको काँचुली फेरिन्छ, उहाँलाई ल्याऊ भन्ने जमात बढ्न थालेको छ। हामीले यही कुरा रिपोर्टिङ गरेका छौँ। अरु पार्टीका मान्छेहरूले पनि उहाँलाई सहयोग गर्ने भन्नुभएको छ।’
प्रचण्डनिकट अर्का एक नेताले पनि सबैभन्दा सुरक्षित जिल्ला रुकुमपूर्व नै देखिएको बताए।
‘सबैभन्दा ढुक्क रुकुमपूर्वमा देखिन्छ, जनताको मत सुरक्षित छ। अहिले नयाँको प्रभाव त्यहाँ खासै परेको छैन’, ती नेताले भने, ‘गोरखामा उठ्नुहुन्न। सिन्धुलीको मास तरल हुने खालको छ। घेराबन्दी हुने खतरा छ। सबै समीकरण मिलाउन पर्यो। त्यसो हुँदा रुकुमपूर्व बढी सम्भावना भएको ठाउँ हो।’
यद्यपि, यसबारे प्रचण्डले कुनै निर्णय दिइसकेका छैनन्। पुसको अन्तिमतिर मात्र उनी नर्णय गर्ने योजनामा छन्।
Shares

प्रतिक्रिया