नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणको विरोध गरेका छन्।
सामाजिक सञ्जालमा उनले यस्तो घटना आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन नसक्ने पनि स्पष्ट पारेका छन्।
शनिबार भेनेजुएलामा हवाई हमला गरी अमेरिकाले त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई आफ्नो नियन्त्रणमा लिएर अमेरिका पुर्याएको छ।
मादुरोलाई कब्जामा लिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलाका उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाइएको घोषणा गरेको छ।
‘संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्नेगरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो,’ एमाले महासचिव पोखरेलले भनेका छन्, ‘यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन।’
उनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको पनि बताएका छन्।
‘भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ।’

Shares

प्रतिक्रिया