राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पार्टीमा भेटवार्ता भएको छ। कांग्रेसमा महाधिवेशनको विवाद उत्कर्षमा पुगेका वेला शनिबार दिउँसो राष्ट्रपति पौडल र सभापति देउवाबीच शीतलनिवासमा भेटवार्ता भएको हो।
कांग्रेसमा देखिएको विवाद मिलाउन सभापति देउवालाई राष्ट्रपति पौडेलले आग्रह गरेका थिए। भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले देउवालाई ‘पार्टी फुट्न नदिनू’ भनेको एक नेताले बताए।
राष्ट्रपति पौडेल र सभापति देउवाबीच भेटवार्ता भएको कांग्रेस प्रवक्त डा. प्रकाशशरण महतले जानकारी दिए। ‘हिजो राष्ट्रपतिज्यू र सभापतिज्यूबीच भेटवार्ता भएको हो। सभापतिज्यूले भेटवार्ता भएको खुलाउनु भयो। के के विषयमा छलफल भयो भन्ने भन्नू भएन। सामान्य र स्वाभाविक भेटघाट हो’, महतले नेपालखबरसँग भने।
कांग्रेसमा विवाद बढ्दै गएपछि राष्ट्रपति पौडेलले शुक्रबार महामन्त्री गगन थापा र नेता रमेश लेखकलाई शीतलनिवास बोलाएर लामो छलफल गरेका थिए। राष्ट्रपति पौडेलले शीतल निवास पुग्ने कांग्रेस नेताहरू पार्टीको विवाद मिलाउन आग्रह गरिरहेका छन्।
नियमित र विशेष महाधिवेशनको विवादले कांग्रेसमा दुई खेमा देखिएका छन्। कांग्रेसको केन्द्रीय सम्पादन समितिले नियमित महाधिवेशनको कार्यतालिका आगामी वैशाख २८-३१ तोकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आजबाट विशेष महाधिवेशन अगाडि बढाएका छन्। आज भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु हुँदै छ।
Shares

प्रतिक्रिया