राजनीति


रवि-बालेनबारे गगनको समीक्षा: लोकतन्त्र र संस्था बलियो बनाएर होइन, चमत्कारबाट हुन्छ भन्ने भ्रम छरे

रवि-बालेनबारे गगनको समीक्षा: लोकतन्त्र र संस्था बलियो बनाएर होइन, चमत्कारबाट हुन्छ भन्ने भ्रम छरे

नेपालखबर
पुस २८, २०८२ सोमबार १४:३१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘पपुलिजम’ र अराजकतावादमा रमाउनेहरूले लोकतान्त्रिक प्रणालीको मूल्य र मान्यताको अवमूल्यन गर्ने प्रवृति बढाएको टिप्पणी गरेका छन्। 

महामन्त्री थापाले कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा यसबारे टिप्पणी गरिएको छ। प्रस्तावको ‘पपुलिजम चुनौतीको सामना गर्दै उदार लोकतन्त्रको रक्षा’ शीर्षकमा गरिएको समीक्षामा ‘पपुलिजम’ले नेपालमा पनि असर पारेको बताएका हुन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) लगायतको नाम नलिएरै कांग्रेस महामन्त्री थापाले भनेका छन्, ‘विश्वव्यापी रुपमा देखिएको पपुलिजम र अराजकतावादको लहरपछि नेपालमा पनि प्रवृति र पात्रहरूले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलवादी सिद्धान्त तथा मूल्य र मान्यताको अवमूल्यन गर्ने प्रवृति बढ्दै गएको देखिन्छ। यस्ता पात्र र प्रवृतिहरूले गर्दा लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाएरु होइन, चमत्कारबाट हुन्छ भन्ने भ्रमण सिर्जना भइरहेको छ।’

यस प्रवृतिबाट लोकतन्त्र र बहुलवादी समाजको सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक प्रणाली बलियो बनाउनुपर्ने उनको तर्क छ। ‘लोकतन्त्र भनेको चमत्कार होइन, यो प्रणाली, पद्धति र प्रक्रिया हो। लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक संस्था सक्षम र सबल हुनुपर्छ, सरकार र राजनीतिक पार्टीहरू जनताप्रति उत्तरदायी हुनुपर्छ।’

उनले लोकतान्त्रिक प्रणालीको विकासमा जोड दिनुपर्ने बताएका छन्। ‘लोकतान्त्रिक संस्थाहरू कार्यमूलक र प्रभावकारी भए पद्धतिको विकास हुन्छ र पद्धतिको विकास भए मात्रै प्रणालीको विकास हुन्छ। त्यसैले लोकतन्त्रको अर्थ केवल शासन प्रणाली मात्रै होइन, जीवन पद्धति हो।’

उनले ‘पपुलिस्ट’ र अराजकतावादी प्रवृतिबाट लोकतन्त्रलाई जोगाउन आग्रह गरेका छन्। प्रस्तावमा थापाले भनेका छन्, ‘लोकतन्त्र प्रणालीप्रधान तथा संस्थाप्रधान हुन्छ। लोकतन्त्र विधिसम्मत र प्रक्रियामुखी हुन्छ। त्यसैले पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूबाट सचेत हुँदै लोकतन्त्र र संविधानको रक्षा गर्न सम्पूर्ण नेपाली जनतालाई नेपाली कांग्रेसको यो विशेष महाधिवेशन विशेष आह्वान गर्दछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad