आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट–१ बाट मनोनयन दर्ता गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध उजुरी परेको छ।
निर्वाचन आयोगका अनुसार बुधबार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै उजुरी परेको हो।
उनीविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन अयोग्य रहेको दाबी गरिएको छ।
यस्तै, नागरिक उन्मुक्ति पार्टी नेपालका कैलाली–१ का उम्मेदवार भएका रेशमलाल चौधरीविरूद्ध पनि उजुरी दर्ता भएको छ। उनी टीकापुर हत्याकान्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्। उनलाई राष्ट्रपतिबाट सजाय माफी दिएर छुटाइएको हो ।
आज १० बजेदेखि ३ बजेसम्म उजुरी दर्ताको समय तोकिएकोमा उक्त अवधिमा पाँच उम्मेदवार विरुद्ध उजुरी परेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।
सुनसरी–२ बाट रास्वपा उम्मेदवार लालविक्रम थापा, भक्तपुर–२ बाट रास्वपा उम्मेदवार राजीव खत्री, भक्तपुर–२ बाटै नेपाल जनसेवा पार्टीबाट उम्मेदवार भएकी जानुका पाठकविरूद्ध उजुरी दर्ता भएको छ।
भक्तपुरमा २, रौतहटमा १ र सुनसरीमा १ र कैलालीमा १ उजुरी परेको छ। भोलिसम्ममा उजुरीउपर छानबिन टुंग्याइने कार्यसूची रहेको छ।
Shares

प्रतिक्रिया