‘कृष्णदाइ’ अर्थात् कृष्ण अधिकारी।
समकालीन राजनीतिमा अधिकांश दलको नेतृत्वमा पुगेका पूर्वविद्यार्थी नेताहरूका ‘दाइ’ कृष्ण अधिकारी यतिबेला बागलुङबाट प्रतिनिधि सभा सदस्यको चुनावी मैदानमा छन्।
बागलुङ भन्नासाथ सबैले सम्झने नाम हो चित्रबहादुर केसी। कम्युनिष्ट आधारभूमि बागलुङको संगठन निर्माणदेखि हालसम्म राजनीतिको शीर्ष तहमा रहेका चित्रबहादुर उमेरले ८२ लागे। उनी विस्तारै संसदीय राजनीतिबाट बिदा हुने तरखरमा छन्।
यद्यपी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि केसी समानुपातिक सूचीमा छन्। थ्रेसहोल्डको वर्तमान व्यवस्थाका कारण जनमोर्चाले समानुपातिक सूचीबाट सांसद बनाउन सक्छ कि सक्दैन त्यो हेर्न बाँकी छ। तर, प्रत्यक्ष तर्फको निर्वाचन प्रणालीबाट केसीले आफूलाई अलग गरेका छन्।
चित्रबहादुर केसी २०५६ सालदेखि नै संसदभित्र क्रियाशील छन्। २०४६ सालको परिवर्तनपछि जनमोर्चाको माउ पार्टी नेकपा (मसाल) ले संविधान सभाको निर्वाचन माग गर्दै २०४८ सालको आमनिर्वाचन बहिष्कार गर्यो। राष्ट्रिय जनमोर्चा गठन हुनु एक वर्षअघि अर्थात् २०५१ सालदेखि नै केसीले संसदीय चुनावमा भाग लिएका हुन्। त्यतिबेला अखिल नेपाल किसान संघमार्फत् चुनावमा भाग लिएको जनमोर्चाले बागलुङ र प्युठानमा एक/एक सिट जिते। चित्रबहादुरले भने चुनाव हारे।
२०५२ सालमा राष्ट्रिय जनमोर्चा गठन भएदेखि केसी सो दलको अध्यक्ष रहिआएका छन्। उनले बागलुङबाट २०५६, २०६४ र २०७९ सालमा चुनाव जिते भने २०७० सालको संविधान सभामा समानुपातिकबाट सांसद बने। २०७४ सालको निर्वाचनमा केसी चुनावमा उठ्न नचाहेपछि तत्कालीन नेकपासँग गठबन्धनबाट जनमोर्चाले बागलुङका दुई प्रदेश सभा सदस्य लिएर प्रतिनिधि सभा छोड्यो। त्यतिबेला प्युठानबाट दुर्गा पौडेलले चुनाव जितिन्, केसी संसदबाहिरै बसे।
२०७९ सालमा पाँचदलीय गठबन्धन हुँदा केसीलाई अन्य दलले समेत खोजी गरे र, अनिच्छाका बाबजुद केसी पुनः संसदमा प्रवेश गरे। तर, भदौ २३, २४ गतेको जेनजी आन्दोलनले राजनीतिमा उथलपुथल ल्याउँदा पाँच वर्षे कार्यकाल पुरा नहुँदै केसी संसदबाट बिदा भएका छन्।
अब उनको रिक्त स्थान पूरा गर्न केसीले नै जित्दै आएको बागलुङ क्षेत्र नम्बर १ को चुनावी मैदानमा आएका छन् दोस्रो पुस्ताका नेता कृष्ण अधिकारी। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग चुनावी तालमेल गरी आफूलाई सुरक्षित पार्ने प्रयासमा छन् अधिकारी।

विद्यार्थी आन्दोलनका ‘दाइ’ कृष्ण अधिकारी
५९ वर्षीय अधिकारी विद्यार्थी राजनीतिमा सम्भवतः सबैभन्दा लामो समय नेतृत्व गर्ने नेता हुन्। उनको कार्यकालमा अन्य संगठनमा कम्तिमा तीनपटक नेतृत्व परिवर्तन भएपनि उनी लगातार १० वर्ष अखिल (छैठौं) को अध्यक्षसहित झण्डै १५ वर्ष नेतृत्व तहमा बसे।
त्यसकारण विद्यार्थी आन्दोलनबाट आएका समकालीन नेताहरू नेपाली कांग्रेसका सभापति गगन थापा वा नेकपा एमालेका नेताहरू योगेश भट्टराई, ठाकुर गैरे अथवा नेकपाका हिमाल शर्मा, लेखनाथ न्यौपानेलगायतले समेत अधिकारीलाई ‘दाइ’ भनेर सम्बोधन गर्छन्।
बागलुङमा अहिले उम्मेदवार बनेका अधिकांश नेता आफूभन्दा जुनियर रहेका र आफूलाई ‘दाइ’ नै भनेर सम्बोधन गर्ने गरेका अधिकारीले सुनाए।
‘म अखिल (छैठौं) को अध्यक्ष हुँदा उहाँहरू कतिपय विद्यार्थी संगठनको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। कोही स्ववियु सभापति हुनुहुन्थ्यो। धेरै उम्मेदवारहरू जुनियर हुनुहुन्छ,’ अधिकारीले भने, ‘धेरैले त दाइ नै भनेर सम्बोधन गर्छन्।’
२०३८ सालदेखि राजनीतिमा प्रवेश गरेका अधिकारी सोही साल बागलुङको पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए।
२०४० सालमा भारतस्थित पार्टी निकट विद्यार्थी संगठन अखिल भारत नेपाली विद्यार्थी संघको केन्द्रीय सदस्य, कोषाध्यक्ष हुँदै महासचिव बनेका अधिकारी २०४५ सालमा सो संगठनका अध्यक्ष बनेका थिए।
२०५१ सालमा नेपाल आएर अखिल (छैठौं) को राजनीतिक सुरु गरेका उनी सबैभन्दा लामो समयसम्म विद्यार्थी राजनीति गरेका नेता हुन्। उनी २०५४ सालदेखि २०६४ सालसम्म अखिल (छैठौं) को अध्यक्ष थिए।
उनी २०६२/०६३ सालको सशक्त विद्यार्थी नेतामा गनिन्छन्। अधिकारीको नेतृत्वको अखिल (छैठौं) ले सबैभन्दा पहिला गणतन्त्रमा जाने निर्णय गरेको थियो भने त्यतिबेलाको राष्ट्रिय गान ‘...श्रीमान् गम्भीर..’ च्यात्ने निर्णय गरेको थियो। सो क्रममा अधिकारी एक महिनाभन्दा बढी समय जेल समेत परेका थिए।
सधैँ अग्रमोर्चामा खट्ने यिनै ‘कृष्णदाइ’ले नै २०६२/६३ सालको आन्दोलनमा विद्यार्थी संगठनहरूबीच समन्वय गर्ने गर्दथे। उनको उपस्थितिलाई विभिन्न विद्यार्थी संगठनले अभिभावकत्व महसुस गर्थे।
बागलुङमा तालमेल
यसपालिको निर्वाचनमा प्रमुख राजनीतिक दलहरू यसअघिको गठबन्धन संस्कृति तोड्दै एकल चुनावी मैदानमा होमिएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भने १६४ क्षेत्रमा उम्मेदवार उठाएको छ।
यस्तै, जनमोर्चाले पनि एकल रुपमा ४२ जिल्लामा ७० जना उम्मेदवार चुनावी मैदानमा उतारेको छ। समानुपातिकतर्फ भने जनमोर्चाले ११० जनाको बन्दसूची बुझाएको छ।
नेकपाले १६५ क्षेत्रमध्ये बागलुङको क्षेत्र नं १ मा उम्मेदवारी नदिएर जनमोर्चालाई छोडेको छ। जहाँ जनमोर्चाबाट कृष्ण अधिकारी उम्मेदवार बनेका छन् भने क्षेत्र नं २ मा नेकपाका ज्ञाननाथ गैरेलाई जनमोर्चाले समर्थन गरेको छ।

यस्तो छ बागलुङको अंकगणित
२०५९ सालको निर्वाचनमा अध्यक्ष चित्रबहादुर केसी पाँच दलीय गठबन्धनबाट विजयी भएका थिए। उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलले समर्थन गरेका थिए। केसीले २१ हजार ४५१ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का सूर्य पाठकले १८ हजार ८२५ मत ल्याएका थिए। रास्वपाका उम्मेदवारले ९ हजार २०० मत ल्याएका थिए।
बागलुङको क्षेत्र नं २ मा भने गठबन्धनबाटै माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले चुनाव जितेका थिए। प्रदेशतर्फ भने माओवादी र कांग्रेसका तर्फबाट दुई-दुई जनाले चुनाव जितेका थिए।
स्थानीय तहमा पनि गठबन्धनका दलहरूले नै चुनाव जितेका थिए। जहाँ जनमोर्चाले एक नगरपालिका र एक गाउँपालिकामा प्रमुख तथा दुई गाउँपालिकामा उपप्रमुख जितेको थियो। जिल्ला समन्वय समितिको प्रमुख पनि संघीयता खारेजीको माग गर्दै आएको जनमोर्चाले नै पाएको थियो।
११ उम्मेदवार मैदानमा, ‘भोटक्रस’ कति सहज?
बागलुङ क्षेत्र नं १ मा यतिबेला ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। कांग्रेसबाट भीमबहादुर श्रीस राना, एमालेका हिराबहादुर खत्री, रास्वपाका सुशील खड्का, राप्रपाका कल्याण आचार्यलगायत प्रतिस्पर्धामा छन्।
राष्ट्रिय जनमोर्चा र नेकपाका बिच राष्ट्रियता, जनतन्त्र र भ्रष्टाचारविरुद्धका कतिपय सवालमा विचार मिल्ने हुनाले सहकार्य गरिएको नेकपाका केन्द्रीय सदस्य राजीव घिमिरे बताउँछन्।
बागलुङको सन्दर्भमा नेकपा र जनमोर्चाबीच सौहाद्र्धपूर्ण सम्बन्ध रहेको र विगतमा पनि तालमेल गरेरै निर्वाचन परिणाम ल्याएकोले एक अर्को दलका उम्मेदवारलाई मत हाल्न सहज हुने उनको भनाई छ।
‘बागलुङको सन्दर्भमा राष्ट्रिय जनमोर्चा एउटा महत्त्वपूर्ण शक्ति हो। हामी पनि जनयुद्ध गरेर कैयौं विषयहरू स्थापित गरेर आएका छौँ। हाम्रा बिचमा राष्ट्रियताको सवाल, भ्रष्टाचार नियन्त्रण, शुसाशनलगायतका विषयमा विचार मिल्छ’ घिमिरेले भने, ‘यसअघिको निर्वाचनको परिणाम र मनोविज्ञानले पनि हामीलाई एकै ठाउँमा ल्यायो। त्यसकारण चुनावमा मिलेरै जानुपर्छ भन्ने कुरामा सहमति भयो।’
तत्कालीन नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्षसमेत रहेका घिमिरेले बागलुङका दुवै क्षेत्रमा यसअघि पनि यी दुई दलले मिलेर जितेको हुनाले सहजै परिणाम आफ्नो पक्षमा पार्ने दाबी गरे।
यस्तै, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तिलक थापाले पनि विगतमा आफूहरूले जितेरै आएको क्षेत्र भएको र उम्मेदवारका हिसावले पनि कृष्ण अधिकारी सशक्त उम्मेदवार भएका कारण चित्रबहादुर केसीको विरासत अधिकारीले बोक्ने बताए।
केसी समानुपातिकमा बस्दा संसदीय यात्रा सुरु गर्ने तरखर गरेका अधिकारीले पनि केसीले पूरै कार्यकाल बिताउन नपाएकाले आफूहरूले बागलुङबाट प्रतिनिधित्व गर्ने कुरा स्वाभाविक भएको बताए। उनले अध्यक्ष केसीले बोकेको राजनीतिक आस्था, निष्ठालाई अघि बढाउने प्रतिवद्धता गरे।
‘हामी सबैको आदरणीय नेता चित्रबहादुर केसीले आफ्नो पुरै कार्यकाल बिताउन पाउनुभएन। चुनाव भएको तीन वर्ष नहुँदै जेनजी आन्दोलन भयो। अब उहाँले बोकेको राजनीति, सिद्धान्त, देशप्रतिको भावना स्वभाविक रुपमा हामी अगाडि बढाउँछौँ’ उनले भने, ‘संगठनको हिसाबले वा उम्मेदवारको हिसाबले होस् बागलुङका मतदाताले हामीमाथि पुन: भरोसा गर्नेछन् र केसीजीको जिम्मेवारी सुम्पनेछन् भन्ने विश्वास छ।’
राष्ट्रियता, गणतन्त्र, संविधान र धर्ननिरपेक्षताको रक्षासँगै भ्रष्टाचारविरुद्ध पार्टीले लिएको अडान नै आफ्नो मुख्य एजेन्डा भएको उनले बताए। बागलुङको विकासको खाका लिएर चुनावी मैदानमा होमिएको पनि अधिकारीले सुनाए।
Shares

प्रतिक्रिया