राजनीति


नेकपा नेताहरु भन्छन् : बैठकबाट भाग्न पाइँदैन

नेकपा नेताहरु भन्छन् : बैठकबाट भाग्न पाइँदैन

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ७:३६,

बिहीबारका लागि तय गरिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बुधबार साँझ स्थगित गरिएको छ।

नेकपाको आन्तरिक शक्ति संघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकपछि आफ्ना लागि सहज अवस्था सिर्जना गरेको अनुमान गरिएको थियो। सोहिअनुसार बिहीबारका लागि स्थायी समिति बैठक राखिएको थियो।

तर बुधबारसम्म आइपुग्दा आन्तरिक समिकरणमा फेरि केहि बदलाव आएको महशुस गरेपछि ओलीले बिहीबार स्थायी समिति बैठक राख्न चाहेनन्।

पार्टीका शीर्ष नेताहरुबीच नै बिभिन्न विषयमा तीव्र विवाद भइरहेका बेला प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठक राख्न इच्छुक थिएनन्। तर ४४ सदस्यीय स्थायी कमिटीका २० सदस्यले लिखित माग गरेपछि बैठक बोलाउनु पर्ने पार्टी विधानको बाध्यताबमोजिम सो मिति तोकिएको थियो।

ओलीले बैशाख २० गते आफ्नै अध्यक्षतामा भएको सचिवालय बैठकले गरेको निर्णय पनि पार्टीभित्र तिव्ररुपमा परिस्थिति बदलिइरहेका कारण कार्यान्वयन गर्न चाहेनन्।

बुधबारको सचिवालय बैठकले स्थायी समितिको एजेण्डा तय गर्ने बताइएको थियो भने उता पार्टीको केन्द्रीय सचिवलायले धुम्बाराहीस्थित पार्टी मुख्यालयमै बैठकका लागि सिट व्यवस्थापन समेत गरिसकेको थियो।

तर, सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले एकै प्रकारको धारणा राखेपछि प्रधानमन्त्री ओली आफू थाकेको र टाउको दुखेको भन्दै बैठक छाडेर आराम गर्न गएका थिए।

त्यसपछि सचिवालयको बैठकले स्थायी कमिटीको बैठक बारेमा ठोस निर्णय नै गर्न सकेन। बैठक बारेमा दुई अध्यक्षलाई निर्णय गर्ने जिम्मेवारी दिएको थियो। त्यसपछि दुई अध्यक्षबीच भएको छलफलपछि पनि नयाँ मिति नतोकी स्थायी कमिटी बैठक नै स्थगित गरियो।

यसै सन्दर्भमा चारजना स्थायी समिती सदस्यहरुसँग नेपालखबरले गरेको कुराकानीः

बैठक तत्काल गर्नुपर्छ, भाग्न पाइँदैनः रघुजी पन्त
बैठक सारेर पार्टीभित्र देखिएको समस्याको समाधान हुँदैन। बैठक सारेर समस्या टर्दैन, समस्या सर्छ मात्रै।

पार्टी अहिले क्रोनिक (गम्भीर) रोगबाट ग्रसित छ। अहंकार र जे गर्न मन लाग्छ त्यही गर्ने प्रवृतिले गाँजेको अवस्था छ। अहिले देखिएको रोगको समाधान दिने भनेको स्थायी समितिको बैठकले नै हो। पार्टीको बैठकबाट कोही पनि भाग्न पाउँदैन।

भोली बोलाएको स्थायी समितिको बैठक ११ बजे हुन नसक्ने भए १ बजे राख्नुपर्छ। नयाँ मिति नतोकी बैठक सारेको सञ्चार माध्यमबाट जानकारी पाएका छौं। यो ठीक होइन।

दुवै अध्यक्षले के बुझ्नुपर्छ भने बैठक सारेर समस्याले निकास पाउँदैन। यो जनवादी कार्यशैली पनि होइन। त्यो शैलीले आन्तारिक जनवादलाई पनि सुदृढ बनाउँदैन। यस्तो शैली परित्याग गर्नुपर्छ।
आन्तरिक जनवाद त्यागेर लोकतान्त्रिक पार्टी रहन सक्दैन। बैठक स्थगित गरेर समस्याको समाधान नहुने हुँदा बैठक तत्काल राख्नु पर्छ।

प्रधानमन्त्री प्रश्नसँग डराउनुभयो : मातृका यादव
साँझ ढिलोगरी बैठक स्थगित भएको सूचना पाएँ। प्रधानमन्त्रीले बैठक नचाहनु भएको देखिन्छ। बहाना बनाएर बैठकबाट भाग्नुभयो। बैठक सामना गरेको भए राम्रो हुन्थ्यो। सरकारले कोरोना महामारी नियन्त्रणको विषय मात्रै नभएर समग्र सरकार सञ्चालन र कार्यशैलीको बारेमा प्रश्न उठेको छ। त्यसैगरी पार्टीको विषयमा समेत प्रश्न उठेको छ। यी विषयहरुलाई बैठकमा राखेर हामीलाई कन्भिन्स गर्नु भएको भए हुन्थ्यो भन्ने हो। त्यसले सरकार सञ्चालनमा सामुहिकता पनि देखिन्थ्यो। उहाँ प्रश्नहरुसँग डराउनु भयो।

ओली बैठकको बारेमा कुनै कुरा नगरी निस्कनु भयो भन्ने जानकारी आएको छ। यो राम्रो कुरा होइन। यसरी बैठक छल्न पाइदैन। भाग्न पाइदैन।

अन्तिम समयमा स्थगित गर्नु राम्रो होइनः सत्यनारायण मण्डल
बैठक भनेर दौडादौड गरेर जिल्लाबाट आज साँझ काठमाडौं आएँ। स्वास्थ्य त्यति राम्रो थिएन। दुख गरेर बैठकमा सहभागी हुन आएँ। यहाँ आउँदा सञ्चार माध्यमबाट बैठक स्थगित भएको जानकारी पाएँ। कसैले औपचारिक रुपमा जानकारी गराएको छैन।

कोरोना महामारी नीति तथा कार्यक्रम बजेट जस्तो विषय भएकोले स्थायी कमिटीको बैठक केही पर राखेको भए राम्रो हुने थियो। कोरोनाले धकेल्दै ल्याएको छ। त्यसको नियन्त्रणको विषय प्रमुख हुनुपर्ने थियो। सरकारले लकडाउन गरेको छ। यस्तो समयमा ४४ जना मानिस एकै स्थानमा भेला हुने की नहुने कुरा पनि थियो। तर यो सबै विषय शनिबारको सचिवालय बैठकमा सोचिएको भए राम्रो हुन्थ्यो।

बैठक राख्ने भनेर सबै तयारी पुरा गरेपछि अन्तिममा आएर स्थगित गर्नु राम्रो होइन।

समस्याको निकास दिने बैठकले नै होः देवेन्द्र पौडेल
संसदको अधिवेशन भोलीबाट शुरु हुँदैछ। अब नीति तथा कार्यक्रम र बजेमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्था छ। त्यसैले तत्कालै स्थायी कमिटीको बैठक होला भन्ने लाग्दैन। संभावना कम देखिन्छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–चार दिनमा यस विषयमा सल्लाह गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बताउनु भएको छ। तर हामी बैठक राख्न निरन्तर जोड दिनेछौं।

सचिवालयको बैठकले तोकेको समयमै राखेको भए राम्रो हुन्थ्यो। बैठकबाट भागेर समस्याको समाधान हुँदैन। अहिले देखिएको समस्याको निकास दिने भनेको बैठकले नै हो। यसबारे स्थायी कमिटीका साथीहरुसँग निरन्तर सम्पर्क र छलफल भैरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad