रौतहट क्षेत्र नम्बर १ को चुनावी नतिजा एकैनासको छैन। बहुदल आएपछि २०४८ सालमा भएको आम निर्वाचन कांग्रेसका बृजकिशोर सिंहले जिते। तर, उनले कार्यकाल पूरा गर्ने पाएनन्, २०५१ मा मध्यावधि चुनाव भयो। फेरि सिंह निर्वाचित भए।
२०५६ मा सिंहको विजय यात्रा रोकियो। सो क्षेत्रबाट नेकपा एमालेका महासचिव माधवकुमार नेपालसँग उनी पराजित भए। २०६४ सालमा भएको पहिलो संविधान सभा चुनावमा स्वतन्त्र सांसद बबन सिंहले जित निकाले। जबकि, त्यसबेला सबैतिर नेकपा माओवादीको लहर थियो।
२०७० सालमा दोस्रो संविधान सभाको चुनाव भयो, यसपटक एमालेका माधवकुमार नेपाल निर्वाचित भए।
संविधान जारी भएपछि रौतहटको निर्वाचन क्षेत्र ६ बाट ४ मा झर्यो। यसपटक नेपालले यो क्षेत्रमा उम्मेदवारी दिएनन्, काठमाडौँ २ मा आए। रौतहट क्षेत्र नम्बर १ मा अनिल झा विजयी भए।
२०७९ मंसिरमा भएको अर्काे चुनावमा माधव नेपाल फेरि रौटहट १ झरे र निर्वाचित पनि भए। यद्यपि, उनलाई नेकपा एकीकृत समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पाँच दलीय गठबन्धनको सहयोग थियो।
यो संसदले पनि अवधि पूरा गर्न पाएन। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण संसद् विघटन गरियो र नयाँ निर्वाचन तय भयो।
आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावमा यसपटक उनै नेपाल, झा र नेकपा एमालेका अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश चौधरी लगायत ३९ जनाले उम्मेदवारी दिएका छन्। जसमा पुरुष ३६ र महिला ३ जना छन्। २० जना स्वतन्त्र उम्मेदवार हुँदा ३० जना नयाँ अनुहार छन्।
नेपाल र झा दुवैको पार्टी र जिम्मेवारी फेरियो
रौतहट १ मा उम्मेदवार बनेका माधव नेपाल र अनिलकुमार झा दुवैको पार्टी र जिम्मेवारी फेरिएको छ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष रहेका नेपाल माओवादी केन्द्र लगायत अन्य वामपन्थी पार्टी, समूह र व्यक्तिसँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक बनेका छन्।
यस्तै, नेपाल सदभावना पार्टी पुनर्गठन गरेर अध्यक्ष बनेका झाले पार्टीलाई कांग्रेसमा मिसाएका छन्। नेपाल नेकपाको तारा चिह्नबाट चुनाव लड्दैछन् भने झा रुखबाट। एमालेका अजयकुमार गुप्ता सूर्य चिह्नमै लड्नेछन्।
प्रचार शैली बदल्दै नेपाल, कांग्रेस एकढिक्का रहेकोले दंग झा
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपालले सजिलै जित निकालेका थिए। यद्यपि, त्यसबेला पाँच दलीय गठबन्धन थियो। नेपालले ३३ हजार ५ सय २२ मत ल्याई विजयी हुँदा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९ सय २२ ल्याए।
यसपटक नेपाली कम्युनिस्ट पार्टीले गठबन्धन गरेको छैन। अर्काेतिर कांग्रेसमा गगन थापा सभापति बनेर आएका छन्। रास्वपाको बढ्दो चर्चाले नेपाल विरासत जोगाउने उपाय लगाइरहेका छन्। उम्मेदवारी मनोनयनअघि नै उनले निर्वाचन क्षेत्रको पछिल्लो अवस्थाको एकसरो जानकारी लिएका छन्।
अब निर्वाचन क्षेत्रमा उनी केन्द्रित भएर लाग्ने निकटस्थहरू बताउँछन्। मतदाताको बदलिएको मनोविज्ञान अनुसार प्रचार थालिएको नेपालको सचिवालयका सदस्य अशोक थापाले बताए।
‘प्रत्येक वडा र पालिका जाँदा माधव कमरेडप्रतिको उत्साह कायमै रहेको पाइयो,’ थापाले नेपालखबरसँग भने, ‘पहिला जसरी हुँदैन, यसपटकको चुनावमा अलि मेहनत चाहिँ गर्नुपर्छ। यो पटक हामीले पनि प्रचार शैली बदल्दैछौँ। घोषणापत्रमा मात्र सीमित हुने हाम्रो प्रचार शैली यसपटक डिजिटल मिडियामा रुपान्तरण गरेका छौँ।’
अनिल झा भने ३१ वर्षपछि कांग्रेसलाई जिताएर इतिहास रच्न चाहन्छन्।
यसपटक कांग्रेस सभापति गगन थापाले रणनीतिक चातुर्य देखाएका छन्। नेपाल सद्भावना पार्टी पुनर्गठन गरी अध्यक्ष बनेका अनिलकुमार झालाई कांग्रेसमा समाहित गर्न लगाएर उनले टिकट दिएका छन्।
२०७४ को निर्वाचनमा जितेको अनुभवले पनि यसपटक सहज हुने झाको बुझाइ छ। आफूले टिकट पाएपछि पार्टीभित्र उत्साह आएको उनले बताए।
‘कांग्रेस ५० वर्षमुनिको सभापति लिएर आएको छ, रिफर्म भएको कांग्रेसले मधेस एजेन्डा बोकेको छ। अब राष्ट्रिय मूलप्रवाहमा लैजान सकिन्छ भन्ने विश्वाससहित मैले उम्मेदवारी दिएको छु, मैले खोसेर टिकट लिएको होइन,’ उनले भने, ‘०५१ सालपछि कांग्रेसले सो क्षेत्र अहिलेसम्म चुनाव जितेको छैन। ३१ वर्षपछि जित्न सकिन्छ कि भनेर साथीहरूमा उत्साह बढेको छ। वसन्त आएजस्तो।’
आफ्नै दल सद्भावनाका कार्यकर्ता पनि चुनावी क्षेत्रमा खटिएको उनले बताए।
‘रौतहटमा मेरो दुस्मन कोही पनि छैन। या त मित्र छन्, या सम्पर्क नै थिएन,’ झाले थपे, ‘जो सुकैसँग मिल्ने भएकोले मलाई एडप्ट गर्न कांग्रेसका साथीहरूलाई अप्ठेरो भएको छैन। त्यही भएर चुनाव जितिन्छ कि भन्ने हो।’
तारा र रुखको लडाइँमा फाइदा पाउने लिने दाउमा गुप्ता
एमालेले रौतहट १ मा उम्मेदवार बनाएका अजयकुमार गुप्ताको राजनीतिक यात्रा स्थिर देखिँदैन। २०६४ सालको पहिलो संविधान सभामा बबन सिंहसँग प्रतिस्पर्धा गर्दा उनको दल सद्भावना पार्टी थियो।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी फोरम लोकतान्त्रिकबाट चुनाव लडे तर, माधव नेपालसँग हारे।
२०७४ को स्थानीय तह निर्वाचनमा फेर दल फेरर राष्ट्रिय जनता पार्टी (राजपा) बाट गौर नगरपालिकाको मेयरमा विजयी बने।
०७९ को स्थानीय चुनावमा उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मेयरमा उठे, तर हारे।
त्यसपछि एमालेले उनलाई प्रवेश गराएर ०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा नेपालविरुद्ध उम्मेदवार बनायो।
नेपाल ३३ हजार ५ सय २२ मत प्राप्त गरी विजयी हुँदा गुप्ताले २६ हजार ९ सय २२ मत ल्याए। पाँच दलीय गठबन्धनबाट नेपालले सो मत पाएकोले गुप्ता यसपटक रौतहट १ मा जित्न सकिने विश्वास गर्छन्।
‘यसपटक सबै दल एक्लाएक्लै भिडेकोले त्यसको लाभ मलाई हुन्छ,’ गुप्ताले भने, ‘३० वर्ष यही क्षेत्रका जनतासँग जोडिएर काम गरिरहेकोले म जित्छु।’
नेपाल, झा र गुप्ताको त्रिपक्षीय भिडन्तलाई थप जटिल बनाउन अन्य दलहरू पनि मैदानमा छन्। रास्वपाले काट्ने युवा मतले कसको समीकरण बिगार्छ भन्ने प्रस्ट छैन।
यसैगरी रौतहटमा प्रभावशाली देखिएका प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेसी र दलित समुदायको मतमा फेरबदल ल्याउने देखिन्छ।
यसैगरी २०६४ पछि उदाएका परम्परागत मधेसवादी दलहरूको उपस्थितिले मत परिणाममा फेरबदल ल्याउनसक्ने देखिन्छ। आजपाका त्रिभुवन साह, जसपा–लोसपा गठबन्धनबाट योगेन्द्र यादव, जनमतका देवेन्द्र मिश्र, राप्रपाका श्रीराम साह लगायत चुनावी प्रतिस्पर्धामा छन्।
तर, दुईवटा पार्टी मिसिएकोले आफूहरू बलियो अवस्थामा रहेको झाको दाबी छ।
मतदातामा प्रभाव रहेकोले यसपटक पनि जितिनेमा माधव नेपाल आशावादी देखिन्छन्। यी दुवै भेट्रान हराएर जित्ने दाउमा गुप्ता छन्।
‘हामी कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच नै प्रतिस्पर्धा हुन्छ,’ झाले भने।
Shares

प्रतिक्रिया