राजनीति


निर्वाचन आयोगलाई हर्क साम्पाङको जवाफ: मेरो फोटोअंकित टिसर्ट रहरले लगाए होलान्

निर्वाचन आयोगलाई हर्क साम्पाङको जवाफ: मेरो फोटोअंकित टिसर्ट रहरले लगाए होलान्

सुमन सुस्केरा
माघ १४, २०८२ बुधबार १५:५९, विराटनगर

निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोप खेपिरहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्। आफूमाथि लागेको आरोप 'कपोलकल्पित र पूर्वाग्रही' रहेको दाबी गर्दै उनले त्यसको जवाफ दिएका हुन्।

पार्टीका तर्फबाट आयोगलाई बुझाइएको जवाफमा साम्पाङले कुनै पनि स्थान वा समयमा बालबालिकालाई निर्वाचनमा खटाउने निर्णय वा निर्देशन नदिएको उल्लेख गरेका छन्। बालबालिकाले आफ्नो फोटो अंकित टिसर्ट लगाएको विषयमा प्रस्ट पार्दै उनले यो रहरले भएको घटना मात्रै रहेको जिकिर गरे।

'विदेशमा रहेका शुभचिन्तकहरूले आफ्नै खर्चमा टिसर्ट छापेर पठाएका हुन्,' साम्पाङले आयोगलाई पठाएको पत्रमा भनिएको छ, 'श्रमदानमा आउने क्रममा केही अभिभावकका बालबालिकाले रहरले ती टिसर्ट लगाएका हुन सक्छन्, तर उनीहरूलाई काममा लगाइएको छैन ।' आफूलाई देख्दा बालबालिकादेखि वृद्धवृद्धासम्म प्रफुल्लित हुने भएकाले केही बेर रमाएर टिसर्ट लगाउनुलाई नै प्रचारमा खटाएको भन्न नमिल्ने उनको तर्क छ।

उम्मेदवार हर्क साम्पाङको नामअंकित टिसर्ट लगाएका बालबालिका। तस्विर: सुमन सुस्केरा

साम्पाङले आफूसँग लाखौँ समर्थक र विशाल चुनाव परिचालन समिति रहेकाले प्रचारका लागि बालबालिकाको सहारा लिनुपर्ने कुनै आवश्यकता नरहेको पत्रमा उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा देखिएका कतिपय दृश्यहरू प्रविधिको प्रयोग गरी आफूलाई बदनाम गराउन बनाइएका 'नाटकीय सामग्री' हुनसक्ने दाबीसमेत उनले गरेका छन्।

विगतमा नगरप्रमुख रहँदादेखि नै केही समूहले आफूलाई राजनीतिक पूर्वाग्रह राखेर दुःख दिने गरेको उल्लेख गर्दै साम्पाङले आफ्नो पार्टीमाथि कारबाही गरिनु न्यायसंगत नहुने मागसमेत राखेका छन्। आयोगले साम्पाङको स्पष्टीकरण अध्ययन गरिरहेको र सोही आधारमा थप निर्णय लिने जनाएको छ।

यो पनि:  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad