सर्लाही ४ को चुनावी सरगर्मीले मुलुकको ध्यान तानेका बेला यहाँका उखु किसानको दिनचर्या भने अलग छ। हरेक बिहान बयलगाडा र ट्रयाक्टरमा उखु लोड गरी चिनी मिलतर्फ लागेपछि उनीहरूको दैनिकी सुरु हुन्छ।
चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरूको दौडधुप बढ्दैछ। तर, उखु किसानलाई उनीहरूको दौडधुपसँग कुनै परवाह छैन। उनीहरू आफ्नै चटारोले छोपिएका देखिन्छन्।
नेपालखरबको इलेक्सन एक्सप्रेस टोली सोमबार मधेस आइपुग्दा उम्मेदवारभन्दा उखु किसान बढी व्यस्त देखिन्थे। ट्रयाक्टर र बयलगाडा उखुको लोड बोकेर लस्करै चिनी मिलतर्फ लागेको दृश्य जहीँतहीँ देखिन्थ्यो।
नेपालखबरको टोलीले बयलगाडा हाँकिरहेका किसानका दुःख र निर्वाचनको माहोलबारे भलाकुसारी गर्ने प्रयास गर्छ। तर, उनीहरूलाई राजनीतिक गफमा खासै रुचि छैन।

सर्लाही ४ मा मुख्य दाबेदारका रुपमा हेरिएका कांग्रेस सभापति गगन थापा आफ्नो क्षेत्रका सबै वडाका स्थानीयलाई बोलाएर समस्या सुनिरहेका छन्। पहिलो चरणको चार दिने चुनावी अभियानका लागि सर्लाही ४ आइपुगेका थापा कार्यकर्तासँग आन्तरिक संवादमा केन्द्रित देखिन्थे। यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार अमरेशकुमार सिंहले पनि चुनावी अभियानलाई तीव्र पारेका छन्। तर, उम्मेदवारहरूसँग अहिले सीमित मान्छे मात्र छन्। सर्लाही ४ का अन्य उम्मेदवारले अहिलेसम्म चुनावी गतिविधि बढाइसकेका छैनन्।
किसानका आफ्नै दुःख छ। हरेक स्थानमा शिक्षा, स्वास्थ्य सेवाको अभाव देखिन्छ।
उखु किसान रामसनही यादवले सर्लाही उखु खेतीको हब भएको भन्दै यसलाई हजारौँ किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधार बनाएको सुनाए। उनका अनुसार उखु काट्ने र मिलमा लग्ने मुख्य समय पुसदेखि फागुन हो। महालक्ष्मी चिनी मिलमा भेटिएका अर्का किसान रामपरीक्षण रायले किसानका दुःख नसुन्ने नेताका भाषण सुन्नुको अर्थ नभएको बताए।
उनी भन्छन्, ‘चुनाव नेताको लागि हुन्छ, हामी किसानलाई के मतलब! भोट हाल्ने दिन जान्छौँ। हामीलाई त आफ्नो जीविकोपार्जन माध्यम खेतीपातीमा नै लाग्नु छ। हाम्रा दुःख नसुन्ने नेताका भाषण सुनेर के अर्थ छ र? सबै सुनेकै त हो। हाम्रा दुःख उस्तै छन्।’
अर्का उखु किसान राम निवास राय भोट दिने कुराभन्दा खेतमा उब्जिएको बाली बिक्री गर्ने कुरामा चिन्तित सुनिए।
‘अहिले भोट कसलाई दिने भन्नेबारे सोचेका छैनौँ, अहिले हाम्रो चिन्ता खेतमा उब्जाएको उखु समयमै बिक्री गर्न चिनी मिलसम्म कसरी पुर्याउने भन्ने हो,’ उनी भन्छन्।

तर, फागुन २१ को चुनावले सर्लाही ४ का युवामा भने छुट्टै किसिमको उमङ्ग ल्याएको छ। कतिपय युवा देशको प्रधानमन्त्रीको रुपमा रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई देख्न चाहेको बताउँछन्। पुराना नेताबाट उत्पन्न भएको निराशा हटाउने व्यक्ति बालेन मात्र भएको उनीहरूको बुझाइ छ।
मतदाता भन्छन्, ‘पुरानोले भोट हालेपछि विकास गर्दिन्छु भने। हामीले भोट पनि हाल्यौँ। पछि विकास कहाँ गयो गयो!’
राजनीतिक विषयमा रुचि नराख्नेहरूमा पनि बालेनप्रति गहिरो चासो देखिन्छ।
‘मलाई पूर्ण विश्वास छ कि घण्टीले हामी सबैलाई निकास दिन्छ,’ सर्लाहीका मतदाता लक्ष्मण यादवले भने।
सर्लाहीमा कांग्रेसको कार्यक्रममा नेताको गाडी चलाएर आएका एक जना चालक समेत बालेनको समर्थक थिए।
केही मतदाता भने आफ्नो क्षेत्रबाट कांग्रेस सभापति थापा सर्लाही ४ मा चुनाव लड्न आएकोमा खुसी भेटिए।
‘प्रधानमन्त्रीको उम्मेदवार सर्लाही ४ मा चुनाव लड्न आउनु हाम्रो लागि सौभाग्य हो,’ महेन्द्र यादवले भने।
केही मतदाता भने मुद्दामा नेताभन्दा खरो सुनिए। सर्लाही ४ का स्थानीय क्रिकेट खेलाडी पिन्टु सिंहले उखु किसानले समयमा पैसा नपाउने समस्या दूर हुनुपर्नेमा जोड दिए। सर्लाहीमा प्रादेशिकस्तरको अस्पताल नभएको भन्दै उपचारका लागि जनकपुर र वीरगन्ज जानुपर्ने बाध्यता अन्त्य गरिदिने उम्मेदवार चाहिएको उनको भनाइ थियो।
उनका अनुसार सर्लाहीको उत्तरतिर बरहथवा नगरपालिकाको हजारिया क्षेत्र मिनी पन्जाबका रुपमा चिनिन्छ।

‘त्यहाँ आलु, काउली, मकै, धान गरी तीन बाली हुन्छ। कृषि विद्युतीकरणमार्फत ट्युबवेलबाट सिँचाइको व्यवस्था मिलाउन सकिन्छ। बागमती सिँचाइबाट उत्तरतिरका किसानले लाभ लिए पनि त्यो पर्याप्त छैन,’ पिन्टु भन्छन्।
सर्लाहीको दक्षिणी भेग उखुको पकेट क्षेत्र रहे पनि धनकौल चिनी मिल र बगदह चिनी उद्योगमा किसान र चिनी उद्योगीबीच उखुको मूल्य निर्धारणको समयमा समस्या हुने गरेको उनले बताए। सर्लाहीमा सडकको खासै समस्या नभएको भन्दै स्थानीय र प्रदेश सरकारबाट सडक विस्तार र स्तरोन्नति भइरहेको उनले बताए। पिन्टुका अनुसार सर्लाहीबासी सुनकोसी मरिन डाइभर्सन परियोजना सम्पन्न भएर बागमती नदीमा सिँचाइका लागि पानी आउने आशामा छन्। प्रधानमन्त्रीको उम्मेदवार भएर कांग्रेस सभापति सर्लाही आएकाले उक्त मुद्दाको सम्बोधन हुनेमा उनी आशावादी सुनिए।
Shares

प्रतिक्रिया