राजनीति


सुदन गुरुङले बिगारिदिन सक्छन् गोरखा १ मा नेकपा र कांग्रेसको गणित

सुदन गुरुङले बिगारिदिन सक्छन् गोरखा १ मा नेकपा र कांग्रेसको गणित

सागर न्यौपाने
माघ १४, २०८२ बुधबार २१:५९, काठमाडौँ

हिउँदे वर्षाले माघ १४ गते बिहानदेखि चिसो बढेको छ। गोरखाको उत्तरी क्षेत्रमा हिउँ परेको छ। मौसम जति चिसिएको छ, गोरखा १ को राजनीति उसैगरी तातिँदै गएको छ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावको लागि यो क्षेत्रबाट १२ जना मैदानमा छन्।

नेपाली कांग्रेसले प्रेमकुमार खत्रीलाई उठाएको छ। नेपाली कम्युनिस्ट पार्टीबाट हरिराज अधिकारी उठेका छन्। नेकपा एमालेबाट रामचन्द्र लामिछानेको उम्मेदवार बनेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले सुदन गुरुङलाई उठाएको छ।

यसैगरी, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगर, नेकपा माओवादीबाट विष्णुप्रसाद रिजाल, नेसनल रिपब्लिक नेपालबाट आकाश राना मगर, नेपाल मजदुर किसान पार्टीबाट मनुकुमारी श्रेष्ठ, राप्रपाबाट केदारमणि खनाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोपालबाबु श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनबाट देवबहादुर थापा र संयुक्त नागरिक पार्टीबाट जितबहादुर घलेले उम्मेदवारी दिएका छन्। 

२०६४ देखि २०७४ सम्म यो क्षेत्र लगातार माओवादी पृष्ठभूमि भएकै नेताले जित्दै आएका हुन्। यो क्षेत्रमा कुल १ लाख २० हजार ५२५ मतदाता छन्।

गोरखा–१ मा ७ स्थानीय तह पर्छन्। उत्तरी भेगका चुमनुब्री र धार्चे, तल्लो भेगका आरुघाट, गण्डकी, भीमसेन थापा, सहिद लखन र गोरखा नगरपालिका (वडा १–७) पर्छन्।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँ यही क्षेत्रमा पर्ने भएकोले माओवादीको बलियो पकड रहँदै आएको छ। २०७९ मा भएको प्रतिनिधि सभाको समानुपातिक मतपरिणामले पनि त्यसलाई पुष्टि गर्छ। 

माओवादी केन्द्रले १८ हजार ४७१ समानुपातिक मत पाएको थियो। कांग्रेसले १५ हजार २७१ मत पाउँदा एमालेले ११ हजार ८९३ मत पाएको थियो। रास्वपाको  मत ७ हजार २४६ थियो। 

अहिले विभिन्न वाम घटकसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनेकाले आफूहरू थप बलियो भएको नेता चुढामणि खड्का तर्क गर्छन्। चुनाव जित्नेमा उनी ढुक्क देखिन्छन्। 

‘हाम्रो हिसाब बिग्रिएको छैन। पानको पात बजाएर चुनाव जितिन्छ। हाम्रो सुदृढ र बलियो संगठन छ,’ उनले नेपालखबरसँग भने, ‘हामीले एक चरण अभियान सम्पन्न गरेका छौँ। विजय निश्चित छ।’

‘हामी पहिला पनि हारेका छैनौँ। ०६४ मा पार्वती थापाले जित्नुभयो, ०७० मा बाबुराम भट्टराईले जित्नुभयो, ०७४ मा हरिराज अधिकारीले जित्नुभयो। अघिल्लो चुनावमा कांग्रेससँग गठबन्धन भएकाले मात्र छोड्नुपरेको हो नत्र त्यो पनि जित्थ्यौँ,’ खड्काले दाबी गरे, ‘पार्टीले लहर ल्याउने समय बाँकी छ। लहर आएपछि यसरी मडारिएर आउँछ, थेग्नै नसकिने गरी आउँछ। गोरखामा कसैले जितको हिसाबकिताब गरेका छन् भन्ने मलाई लाग्दैन।’

राजनीतिक रुपले परिपक्क उम्मेदवारलाई उठाएको उनी बताउँछन्।

‘हाम्रो पार्टीमा इमानदार नेता भनेर हरिराज अधिकारीलाई। उहाँ आफैँमा सक्षम नेता हो। चुनावमा समग्र योजना बनाउन सक्ने व्यक्ति हो,’ खड्काले भने।

तर, यो पटक यस क्षेत्रमा उम्मेदवार, संगठन, पकड र संख्याको हिसाबकिताब गरेर निकालिएको निष्कर्ष पनि फरक पर्न सक्ने कतिपयको तर्क छ। किनकि, जेनजी आन्दोलनपछि उदाएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुदन गुरुङ गोरखा १ मा यसपटक उम्मेदवार छन्। 

पहिलो पटक राजनीतिमा हाम फालेका उनी पहिलो प्रयासमै सांसद बन्न चाहन्छन्। जसले माओवादी विरासत बोकेको र कांग्रेसले पछिल्लो चुनाव जितेको सो क्षेत्रको गणित बिगारिदिन सक्ने सम्भावना पनि छ। धार्चे, चुमनुब्री लगायत पालिकामा गुरुङले प्रचार गरिरहेका छन्।

गुरुङको पक्षमा देखिएको माहोलले रास्वपाका गोरखा सभापति सुवर्ण रोकाहा क्षेत्री उत्साहित छन्। अघिल्लो चुनावमा उनी आफैँ यो क्षेत्रबाट उम्मेदवार रहँदा ४ हजार ८९२ मत पाएका थिए। यसपटक विभिन्न दलका मतदाताको मत पनि पाइने उनले बताए। 

आधार बलियो बनिसकेकोले यसपटकको चुनावी नतिजा आफ्नो पक्षमा आउने क्षेत्रीको भनाइ छ। 

कांग्रेस गोरखाका सचिव किशोरजंग थापा सो कुरा स्वीकार गर्छन्। 

‘नेकपा र कांग्रेस यहाँ बलिया हुन्, नतिजा पनि यही दुई दलबीचकै प्रतिस्पर्धाबाट आउने देखिन्छ,’ ‘थापाले भने, ‘अहिले बाहिर भनेकै जस्तो मतमा कन्भर्ट भएमा सुदन प्रतिस्पर्धामा आउन सक्छन् र गणित बिगार्न सक्छन्।’

तथापि, अहिलेसम्म संगठनमा कुनै समस्या नपरेको उनले बताए। पार्टीका उम्मेदवार प्रेमकुमार खत्रीले अघिल्लो पटक राजेन्द्र बजगाईंले जितेको क्षेत्र जोगाउन सक्ने सचिव थापाले बताए। 

पार्टी संगठन र खत्रीको सामाजिक छविले काम गर्ने उनको भनाइ छ। 

‘कांग्रेसको खासै बिग्रिसकेको छैन। अलि गहिरिएर भित्र छिरिसकेपछि २० दिनमा केही छनक आउँछ,’ उनले थपे। 

एमालेका गोरखा जिल्ला सचिव काजीराम रोकाले पार्टीको मत कसैले दायाँबायाँ गर्न नसक्ने ठोकुवा गरे। 

‘एमालेको मत घन्टीतिर जाँदैन, कांग्रेसको पनि जाँदैन, हामी ढुक्क छौँ,’ उनले भने, ‘गयो भने नेकपाको मात्र जाने हो, सहिद लखन गाउँपालिकाले त्यो संकेत गरेको छ।’ 

अघिल्लो चुनावमा पाएको मतमा कम्तीमा १० हजार मत थप्न सके मात्र एमालेले जित्न सक्छ।

‘बेमौसमी निर्वाचनमा जित्ने भनेर ढुक्क हुने र हार्ने भनेर स्तब्ध हुने अवस्था छैन,’ एमाले जिल्ला सचिव रोकाले थपे, ‘जनताले पत्याए जित्छौँ। हार्छाैं भनेर हामी निहुरमुन्टो लगाएर हिँड्दैनौँ।’ 

अहिले संगठन विस्तारमा केन्द्रित भएको उनले बताए।

‘हौवावाजी, हावादारी, गैरराजनीतिक कुरा गरेर जनतालाई झुक्याउने एमाले होइन। हाम्रो संगठनमा घातप्रतिघात छैन। इमानदारीपूर्वक मतदातामा जाने क्रम सुरु भएको छ,’ उनले थपे।

यस्तै, नेकपाबाट उम्मेदवार रहेका हरिराज अधिकारी पनि कसैले आफ्नो हिसाब बिगार्न नसक्ने बताउँछन्। 

‘स्थितिमा खासै परिवर्तन हुँदैन, मलाई हारिन्छ भन्ने लाग्दैन,’ उनले भने, ‘जनाधार, संगठन, हामीले जितेको स्थानीय तहको स्थिति, उम्मेदवारको स्वीकारोक्तिले हामीले हार्न पर्ने कारण पनि छैन।’

पार्टी एकढिक्का रहेको उनको भनाइ छ। 

चुनाव जित्ने रणनीति 
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका हरिराज अधिकारी सांगठनिक मतलाई जित्ने आधार मान्छन्। २०७४ को चुनावमा सोही क्षेत्रबाट निर्वाचित उनी यसपटक फेरि जितेर संसद् पुग्न २०७९ मा पाएको १८ हजार ४७१ समानुपातिक मत बढाउन प्रयास गरिरहेको बताउँछन्।

ग्रामीण भेगको विकास, कृषिमा आधुनिकीकरण लगायतका स्थानीय एजेन्डा अघि सारेर उनी घरदैलोमा पुगेका छन्।

२०७९ मा सो क्षेत्रबाट निर्वाचित राजेन्द्र बजगाईंलाई टिकट नदिएर कांग्रेसले युवा नेता प्रेमकुमार खत्रीलाई अवसर दिएको छ। पर्यटन व्यवसायमा संलग्न खत्रीले कांग्रेसको साख जोगाउन विकासप्रेमी छविलाई अगाडि सारेका छन्। 

अघिल्लो चुनावमा पाएको मत जोगाउनुपर्ने उनीमाथि चुनौती छ। गोरखालाई पर्यटकीय हब बनाउने, रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणको विषय उठाउँदै पर्यटन क्षेत्रका व्यवसायी र स्थानीय युवाहरूलाई परिचालन गरेर उनी घरदैलो गर्दैछन्। 

गोरखामा एमालेको मत सधैँ एकैनासको भए पनि जित निकालेको छैन। अहिले विद्यार्थी राजनीतिबाट आएका युवा नेता रामचन्द्र लामिछानेलाई एमालेले गोरखा १ बाट उठाएको छ। उनी १२ हजार मत सुरक्षित गर्दै नयाँ मतदाता थप्न रणनीति बनाइरहेको बताउँछन्। चुनावी प्रचार सुरु गरिसकेको उनले बताए। 

उता, रास्वपाका सुदन गुरुङले पार्टीले अघिल्लो चुनावमा पाएको ७ हजार २६४ समानुपातिक मत बढाउन अनेक उपाय लगाइरहेका छन्। डिजिटल प्लाटफर्म फेसबुक, टिकटक, इन्टाग्रामको व्यापक प्रयोग गरेका छन्। सडक संवाद र साना समूहमा प्रत्यक्ष प्रश्नोत्तर गर्दै उनी मतदाताको घर पुगिरहेका छन्। 

गुरुङको प्रचार शैली गोरखामा अहिले चर्चाको विषय बनेको छ। पुराना दलसँग असन्तुष्ट मतदाता तान्न उनले सुशासन, भ्रष्टाचार विरोधी अभियानको नारा उठाएका छन्।

त्यसबाहेक बुढीगण्डकी आयोजनाको मुआब्जा विवाद, सडक र खानेपानी जस्ता स्थानीय मुद्दाले यसपटक मतदाताको मन बदल्न सक्ने देखिएको छ। 

पुराना दलहरू आफ्नो संगठन जोगाउन रक्षात्मक देखिँदा फागुन २१ को नतिजा सुदन गुरुङले काट्ने मतमा निर्भर देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad