काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का अघिल्ला दुई निर्वाचन एमालेका गोकुल बाँस्कोटाले जितेका थिए। उनलाई २०७४ मा माओवादीको सहयोग थियो। तर, २०७९ को चुनावमा भने बाँस्कोटाले पाँच दलीय गठबन्धनलाई हराएका थिए।
उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतले हराएका थिए। यस पटकको चुनावमा बाँस्कोटाले टिकट पाए त्यस्तै नतिजा ल्याउनसक्ने एमालेभित्र चर्चा थियो।
काभ्रे २ मा उनले गरेको विकासका कारण पनि उनी जनतामाझ लोकप्रिय रहेको एमालेका नेताहरू बताउँछन्। अघिल्ला दुई पटक पनि चुनाव जितेकाले यो पटक पनि उनैले टिकट पाउने उनीहरूको भनाइ थियो।
तर त्यसो भएन।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो समय टाढिएका बाँस्कोटा पार्टीको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेलको प्यालनबाट सचिव पदमा उठे। सचिवमा पराजित भए पनि केन्द्रीय सदस्यमा जिते।
एमालेभित्र धेरैको भनाइ छ– पोखरेल प्यानलमा लागेर ओली पक्षलाई चुनौती दिएकै कारण बाँस्कोटालाई ओलीले टिकट दिएनन्। धुलिखेल नगरपालिकाको मेयर रहेका अशोककुमार ब्याञ्जुलाई टिकट दिइयो। ब्याञ्जु मेयर छोडेर बाँस्कोटाले जितेको क्षेत्रमा उठे। बाँस्कोटाले टिकट नपाएपछि काभ्रे २ को चुनावी नतिजा के होला भन्नेबारे एमालेभित्र र बाहिर खुब चासो बढेको छ।
२०७९ मा एमालेले काभ्रे २ बाट ३४ हजार ७०५ समानुपातिक मत पाउँदा बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएका थिए। एमालेले भन्दा बाँस्कोटाले १० हजार ६४० बढी मत ल्याएका थिए। बाँस्कोटा नहुँदा जित निकाल्न सकिनेमा कांग्रेस र रास्वपा आशावादी देखिन्छन्।
नेपाली कांग्रेसले २०७४ मा बाँस्कोटासँग पराजित मधुप्रसाद आचार्यलाई नै अघि सारेको छ। बाँस्कोटाले ५५ हजार ५२६ मत ल्याउँदा आचार्य ३६ हजार ७५३ मतमा रोकिएका थिए। सिभिल इन्जिनियर उनी आफूलाई सोसल इन्जिनियर भन्न रुचाउँछन्।
‘सामाजिक इन्जिनियरिङका क्रममा राम्रो प्रतिक्रिया पाइरहेको छु। निष्ठाको राजनीति बोक्ने मान्छे हुँ। सकिने काम गर्दै आइरहेको छु। नसक्ने गर्छु भनेर धाकधम्की लगाइएन। यसले गर्दा जनस्तरबाट साथ सहयोग पाइरहेको छु,’ आचार्यले भने।
जनताले राजनीतिक दलहरूबाट अपेक्षा गरेको सुधार र परिवर्तन भदौ २३ र २४ को जेनजी आन्दोलनका रूपमा प्रकट भएको बताउँदै उनी भन्छन्, ‘त्यसलाई गहन रूपले विचार गरेर सोही अनुरूप हामीले आफूलाई परिवर्तन गर्दै आएका छौँ। इतिहासका हिसाबले पुरानो र परिपक्व पार्टी हौँ। नीति, कार्यक्रम र नेताका आधारमा नयाँ पार्टीका रूपमा आएका छौँ। राजनीतिमा चाहिने परिपक्वता हाम्रो दलसँग छ। जनताको आर्थिक सामाजिक परिवर्तनका लागि नयाँ नीतिको नेतृत्व गर्ने कार्यक्रम हामीसँगै छ। राजनीति भरोसाको विषय हो। जनताले भरोसा गर्न सक्ने दृष्टिकोणसहित जनतामा हामी आएको हुनाले साथ पाउने अवस्था बनेको छ।’
टेस्टेड उम्मेदवार भन्दा पनि नयाँले अवसर पाए केही गर्ने सम्भावना रहने उनले बताए।
रास्वपाका धुलिखेल नगर सभापति माधव श्रेष्ठ देशभर रास्वपाको लहर रहेकाले यो पटक काभ्रेका दुई वटै निर्वाचन क्षेत्र आफ्नो पार्टीले जित्ने बताउँछन्। रास्वपाले बदनकुमार भण्डारीलाई उम्मेदवार बनाएको छ।
‘काभ्रे २ सहरी बस्ती धेरै भएको क्षेत्र हो। सहरी क्षेत्रमा चेतनाको लहर छ। जनताले परिवर्तन चाहिरहेका छन्, परिवर्तन हुनु पर्छ भन्ने छ। देशमै रास्वपाको माहोल छ। पुरानो पार्टी कांग्रेस एमालेको अवस्था हेर्दा रास्वपाको जित निश्चित देखिएको छ,’ उनले भने।
यहाँ सहरी बस्तीका रूपमा पाँचखाल, बनेपा, पनौती, मण्डन देउपुर आदि छन्।
‘जेनजी आन्दोलनको देनस्वरूप मिसन २०८४ बाट २०८२ आएको हो। हाम्रो उम्मेदवार ३३ वर्षको हुनुहुन्छ। जल्दोबल्दो प्रखर र स्पष्ट वक्ता हुनु हुन्छ। युवा र जोस कारणले पनि जित्नु हुन्छ भन्ने लाग्छ,’ उनले भने, ‘अरु पार्टीभित्र आ–आफ्नै कलह छ। काभ्रेको दुवै क्षेत्रमा रास्वपा राम्रो छ। त्यसमा पनि २ नम्बर क्षेत्रमा विजयी हुनेमा बढी आशावादी छु।’
तर, एमालेका काभ्रे अध्यक्ष राजन भुर्तेल आफ्नो पार्टी एकताबद्ध रहेको दाबी गर्छन्।
‘एकताबद्ध ढंगले अघि बढ्ने हो। टिकट कसलाई दिने, पार्टीको आन्तरिक विषय हो। हिजोको के कसो भन्नेमा धेरै चर्चा परिचर्चा गर्न आवश्यक छैन,’ उनले भने।
प्रभावका हिसाबले काभ्रे २ एमालेको लालकिल्ला हुनुका साथै लामो समयदेखि स्थानीय सरकार राम्रोसँग सञ्चालन गर्दै आएको सक्षम उम्मेदवार भएकाले पार्टीले जित निकाल्ने उनी बताउँछन। ब्याञ्जु मेयरका साथै नगरपालिका संघका अध्यक्षका रूपमा काम पनि गरिसकेका व्यक्ति हुन्।
‘अन्य उम्मेदवारसँग तुलना गर्दा उहाँ कमजोर र असक्षम हुनुहुन्न। एमालेप्रतिको जनताको आकर्षण घटेको छैन। कम भएको छैन। एमालेले जित्ने दाबी गर्छु,’ उनले भने।
हाल एमाले चुनाव लक्षित पालिकास्तरीय बृहत् कार्यकर्ता भेला गरिरहेको उनले जानकारी दिए।
‘पार्टीका सबै नेता, कार्यकर्ताहरू परिचालित हुनु भएको छ। आफ्नो ठाउँबाट लाग्नु भएको छ। एकताबद्ध रूपमा लाग्नु भएको छ,’ उनले भने।
३२ जना प्रतिस्पर्धामा
काभ्रे २ को चुनावी प्रतिस्पर्धामा ३२ जना छन्। एमालेका अशोककुमार ब्याञ्जु श्रेष्ठ, कांग्रेसका मधुप्रसाद आचार्य, नेपाली कम्युनिस्ट पार्टीका बसुन्धरा हुमागाईं, राष्टिय स्वतन्त्र पार्टीका बदनकुमार भण्डारी र राष्टिय प्रजातन्त्र पार्टीका रन्जीव श्रेष्ठ चुनावी मैदानमा छन्।
यस्तै, जनता समाजवादी पार्टी, नेपालका रकम लामा (तामाङ), नेपाल मजदुर किसान पार्टीका मुना तामाङ, राष्ट्रिय जनमोर्चाका सूवर्णविक्रम थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीका रमेशबहादुर घर्ती काभ्रे २ मा प्रतिस्पर्धामा छन्।
मंगोल नेसनल अर्गनाइजेसनका उमेश तामाङ, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का राजन थापा, नेसनल रिपब्लिक नेपालका सुकमान तामाङ, श्रम संस्कृति पार्टीका टंकबहादुर लामा, मितेरी पार्टी नेपालका हरिबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का कान्छाराम घिसिङ र उज्यालो नेपाल पार्टीका ज्योत्सना सैँजु छन्।
यस्तै, स्वतन्त्र रूपमा लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ, आशा तामाङ, डिल्लीप्रसाद न्यौपाने, गणेशप्रसाद अधिकारी, सीताराम मैनाली, केशवराज तिमल्सिना र उमेश थापा चुनावी मैदानमा छन्।
Shares

प्रतिक्रिया