राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन रोक्ने प्रयास नगर्न चेतावनी दिएका छन्। चुनावी अभियानका क्रममा बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन–२ पुगेका लामिछानेले निर्वाचनको विकल्प नभएको भन्दै यसलाई भाँड्ने षड्यन्त्र नगर्न पुराना दलहरूलाई चेतावनी दिएका हुन्।
भरतपुर–११ स्थित शान्ति टोलमा भाडामा लिएको नयाँ निवासमा गृहप्रवेश गरेपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने, 'निर्वाचन छल्ने र भाँजो हाल्ने काम कसैले नगर्नुस्। अहिले पनि कसरी निर्वाचन रोक्ने भनेर भित्रभित्रै जुँगा मुसार्ने काम भइरहेको छ, हामी ती सारा इशारा बुझिरहेका छौँ। अब जनतालाई निर्णय गर्न दिनुपर्छ।'
लामिछानेले आफूलाई घेराबन्दीमा पारेर लोकतन्त्रको विधिभन्दा बाहिरबाट हराउन खोजिएको आरोप समेत लगाए। 'जो–जो मिल्नु छ मिल्नुस्, तर हामीलाई लोकतान्त्रिक विधिबाट हराउनु, झेली गरेर वा छलछाम गरेर हराउन पाइँदैन,' उनले भने, 'चितवनले निलो क्रान्तिको बीउ रोपेको छ, अब देशभरि नै यसले परिवर्तनको लहर ल्याउनेछ।'
चितवन पुग्दा लामिछानेलाई विमानस्थलमा कार्यकर्ताहरूले स्वागत गरेका थिए। विमानस्थलबाट उनी सिधै भरतपुर–४ लंकुस्थित हरिकिर्तन लक्ष्मी मन्दिर पुगेर 'स्वस्ति शान्ति' पूजामा सहभागी भए। उक्त पूजामा चितवन–१ का उम्मेदवार हरि ढकाल र चितवन–३ की उम्मेदवार सोविता गौतमको पनि उपस्थिति थियो।
अदालती प्रक्रियाका कारण केही समय बाहिरै रहेका लामिछानेले गत माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारी दर्तापछि उनी पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्। रास्वपा जिल्ला सभापति कृष्णप्रसाद भुसालका अनुसार लामिछाने केही दिन चितवनमै बसेर घरदैलो र चुनावी रणनीतिमा केन्द्रित हुनेछन्।
Shares

प्रतिक्रिया